जनता टाइम्स

४ कार्तिक २०७६, सोमबार २०:४६

जापान नेपालको प्रमुख विकास साझेदार : राष्ट्रपति


जापान, कात्तिक ४ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उल्लेख गर्नुभयो । उहाँले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो । जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उहाँले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गर्नुभयो । राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएका प्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बिपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा आजै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उहाँले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाउनुभयो । राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने र काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पुर्याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

साठी हजार जापानीले नेपाल भ्रमण गर्ने

कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराउनुभयो । तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुनुहुन्छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान गराउने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनाका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपतिको जापान भ्रमण : नेपालको आर्थिक विकासमा केन्द्रित

राष्ट्रपति भण्डारीसँग आजै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेटबार्ता गर्नुभयो । टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । राष्ट्रपति भण्डारीले भेटवार्तामा नेपालको आर्थिक विकासमा जापान सरकारले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दैै यस्तो सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा सहभागी परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले जापानी सम्राट् नारुहितोको शुभराज्याभिषेकमा सहभागी हुन आइतबार टोकियो आइपुग्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन जापानी प्राध्यापक केन्जो टाँगेले बनाएको गुरुयोजनाले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो । जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो । उहाँले आजै काठमाडौँको नागढुङगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग शिलान्यास हुन लागेकामा खुसी व्यक्त गर्नुभयो ।

जापानी प्रधानमन्त्रीले आफ्नो सरकारले अध्यागमन कानूनलाई संशोधन गरी वैदेशिक रोजगारको क्षेत्रलाई सरल बनाएको र ९० हजारभन्दा बढी नेपाली जापानमा कार्यरत रहेको जानकारी दिनुभयो । उहाँले लुम्बिनीलाई बुद्ध दर्शनको उद्गम केन्द्रको रुपमा विकास गर्न सहयोग गर्ने आश्वासन दिँदै जापानमा आएको आँधीबेरीबाट भएको क्षतिप्रति नेपालले दुःख व्यक्त गरेकामा धन्यवाद दिनुभयो ।

उहाँहरुबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौँ–ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझैँ जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको सचिव वैरागीले बताउनुभयो । बैठकमा वातावरण तथा जलवायु परिवर्तनको प्रभावबारे सन् २०२० को अप्रिलमा नेपालले सगरमाथा संवाद आयोजना गर्ने जानकारी दिइएको उहाँले उल्लेख गर्नुभयो ।भेटवार्तामा गृहमन्त्री रामबहादुर थापा, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।