जनता टाइम्स

२ फाल्गुन २०८१, शुक्रबार १८:४६

सानदार मःम पसलमा आगलागी घटनाः थप एकजनाको मृत्यु


काठमाडौं, २ फागुन । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका थप एकजनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार (फागुन २) दिउँसो साढे १ बजे प्रजित लामाको मृत्यु भएको हो । गएको माघ २४ गते बिहान ग्यास चुहावट भई उक्त मःम पसलमा आगलागी भएको थियो । त्यहाँका अरू कामदारसँगै त्यति बेला लामा पनि घाइते भएका थिए । सानदार मःम पसलमा आगलागीमा परी घाइते भएका अरू सातजनाको उपचार जारी छ ।

कीर्तिपुर बर्न अस्पतालमै उनीहरूको उपचार भइरहेको छ । उनीहरू सबै सातजनाकै अवस्था गम्भीर रहेको उपचारमा संलग्न डा. विशाल कार्कीले जानकारी दिनुभयो । यसअघि, माघ २८ गते राति दुईजनाको मृत्यु भएको थियो । त्यहाँ आगलागीमा परी ११ जना घाइते भएका थिए ।