जनता टाइम्स

१२ जेष्ठ २०८२, सोमबार २२:१५

भाेलि प्रेस चौतारी नेपालको उपत्यका स्तरीय भेला, गणतन्त्र दिवसको प्रचार योजना बनाउने 


काठमाडौं, १२ जेठ । प्रेस चौतारी नेपालले उपत्यका स्तरीय भेला बोलाएको छ ।

मंगलबार बिहान संगठनको केन्द्रीय कार्यालय पुतलीसडकमा भेला आयोजना गर्न लागिएको संगठनका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो ।  भेला बिहान १० बजे बोलाइएको छ ।

जेठ १५ गते गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउने तयारीको लागि भेला बोलाइएको पाण्डेले बताउनुभयो । भेलामा काठमाडौंमा उपलब्ध केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरू, काठमाडौं भित्र रहेका संगठनका विभिन्न समितिका पदाधिकारी, सदस्य तथा प्रेस चौतारी नेपाल आबद्ध पत्रकारहरूको सहभागिता रहने छ ।

भेलाले गणतन्त्र दिवसको प्रचार तथा दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गर्न लागेको कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरी ठोस निष्कर्ष निकाल्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।

गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेले जेठ १५ गते देशभर भव्य कार्यक्रम आयोजना गर्दै छ । काठमाडौंमा झाँकी सहितको प्रदर्शन हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा झाँकी सहित गणतन्त्र दिवसको विशेष कार्यक्रम आयोजना हुँदै छ ।