जनता टाइम्स

१३ जेष्ठ २०८२, मंगलवार १६:४४

हल्लाको भरमा कसैको राजीनामा माग्नु राम्रो होइन : डा. मिनेन्द्र रिजाल


काठमाडौं, १३ जेठ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्रराज रिजालले मूल विषयमा नै नगई कुनै व्यक्तिको आलोचना र राजीनामा माग्नु गलत हुने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै रिजालले कुनै घटना बाहिर आयो भने त्यसको मूल विषयमा पुग्नु भन्दा व्यक्तिको राजीनामाको कुरा बढी चर्चामा आउने गरेको बताउनुभयो । ‘घटनाहरू बाहिर आउँछन्, ती घटनाहरूको मूल कुरामा चर्चाभन्दा बढी राजीनामा गर्नुपर्‍यो अथवा राजीनामा गर्नु पर्छ या पर्दैन भन्ने विषयमा बहस केन्द्रित भइरहेका छन्, अहिले गृहमन्त्री रमेश लेखकको मात्र होइन पहिलाको पनि चार÷पाँच वटा मुद्दा त्यस्तै छन्, ती घटनाको मूल आशय राजीनामा गर्नुपर्छ कि पर्दैन, राजीनामा नदिए संसद् चल्छ कि चल्दैन भनेर पक्ष र विपक्ष बहस हुने गर्छ,  सतहमा हिँड्नु भएन’, उहाँले भन्नुभयो ।

कार्यक्रममा पूर्व अर्थ राज्यमन्त्री उदय शमशेर जबराले मिडिया ट्रायल, अदालतको ट्रायलभन्दा बढी महत्त्वपूर्ण हुन लागेको भन्दै यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।  ‘ मिडिया ट्रायल अदालतको ट्रायलभन्दा बढी महत्त्वपूर्ण हुन लागेको छ, यसलाई हामीले कसरी नियन्त्रण गर्ने भन्ने कुरा आउँदैन तर यसलाई कसरी व्यवस्थित गर्ने त्यतातिर पनि ध्यान दिनुपर्ने हुन्छ । नत्र अहिले सामाजिक सञ्जालले कुनै मान्छेलाई गलत हो भनेर भनेपछि उसलाई अदालतले सही भनेर पठाए पनि जनताको नजरमा गलत नै हुन्छ, त्यस कारण यसलाई व्यवस्थापन गर्ने तिर ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरही, युनियनका पूर्वअध्यक्षहरु रमेश तुफान, कुलचन्द्र वाग्ले, समीरजंग शाह, बन्द्री सिग्देललगायतले धारणा राखेका थिए ।