जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १०:१५

खाँडादेवीलाई दमाहा, डमरु, झ्याम्टा र आरती सेट 


रामेछाप, १६ जेठ । रामेछापको ऐतिहासिक शक्ति पीठ खाँडादेवी मन्दिरलाई देवीको आरतीको समयमा आवश्यक पर्ने दमाहा, डमरु, झ्याम्टा तथा आरतीका सामाग्रीको सेट प्राप्त भएको छ ।

खाँडादेवी गाउँपालिका–३ भिरपानी घर भई हाल काठमाडौं बस्दै आउनुभएका व्यवसायी समाजसेवी परशुराम कार्कीले खाँडादेवी मन्दिरमा डमरु, दमाहा, झ्याम्टा, कमण्डलु तथा आरतीका सामाग्रीको सेट चढाउनु भएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले बताउनुभयो ।

मन्दिरमा देवी भागवत महापुराण लगाउन जानु भएका बाबा मुक्तिनाथ तिवारीले देवी मन्दिरमा पूजाको लागि आरती गर्ने बेला डमरु, दमाहा, झ्याम्टा लगायतका बाजाहरू बजाउन सुझाव दिनुभए पछि ती सामाग्री जुटाइएको अध्यक्ष तामाङले बताउनुभयो । ‘उहाँले भने पछि विकास कोषको तर्फबाट सामाग्री खरिदको तयारीमा थियौँ, त्यो थाहा पाएपछि भक्तजनले नै सामाग्री चढाउनु भयो’, तामाङले भन्नुभयो ।

खाँडादेवीलाई निक्कै पौराणिक मन्दिर मानिन्छ । यसको व्याख्या देवी भागवत महापुराणमा पनि गरिएको बाबा मुक्तिनाथ तिवारी बताउनुहुन्छ । यसै गरी शिवपुराणको हिमवत् खण्डमा पनि खाँडादेवीको महिमा चर्चा गरिएको छ ।

तथ्य र प्रमाणका आधारमा पनि यो मन्दिर निक्कै पुरानो पुरातात्विक महत्त्व राख्ने मन्दिर हो । मन्दिर विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला दरबारले चढाएको सुन र चाँदीको जन्तर पनि यो मन्दिरको पुरातत्त्व झल्काउने आधारहरू हुन् ।  त्यसैले पुरातत्त्व विभाग मार्फत पुरातत्त्व नखलबलिने गरी मन्दिरको पुनर्निर्माण तथा मन्दिर परिसरमा संरचना निर्माणको काम भएको छ ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र सो लडाइँ जित्न पृथ्वीनारायण शाहले खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।

राज्यबाट पठाइँदै आएको पूजा खर्च विसं २००९ सालबाट रोकियो । सरकारको तर्फबाट पठाइने पूजा खर्च रोकिएपछि दरबारमा पूजाको निरन्तरताको लागि बिन्तीपत्र पनि पठाइयो, तर कुनै सुनुवाइ भएन । त्यस पछि पुजारीहरूले आफैँले खर्च उठाएर सो पूजा धान्दै आएकामा अहिले खाँडादेवी विकास कोषले सो सबै काम गर्दै आएको छ ।

मन्दिरमा दर्शन गर्न अहिले देश विदेशक मानिसहरु आउन लागेका छन् । याे मन्दिरमा भाकल गरेर मागे पछि मागेकाे कुरा पुरा हुन्छ भन्ने विश्वास छ । मागेकाे कुरा पुरा भएकाेले बलि सहितकाे पूजा लिएर आएकाे भक्तजन बताउँछन् ।