जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार १८:२४

मध्यपहाडी लोकमार्गको नक्साङ्कन परिवर्तन गर्ने सरकारको निर्णयले रामेछापवासी खुसी 


रामेछाप, १६ जेठ । सरकारले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई छोटा बनाउन नक्साङ्कन परिवर्तन गर्ने गरी गरेको निर्णयलाई रामेछापवासीले स्वागत गरेका छन् ।

संघीय सरकारले बिहीबार ल्याएको बजेट तथा कार्यक्रममा मध्यपहाडी पुष्पलाल लोकमार्गको नक्साङ्कन परिवर्तन गर्ने घोषणा गरेको छ । नयाँ नक्साङ्कन अनुसार सो लोकमार्ग पुष्पलालको जन्मथलो रामेछापको भँगेरी हुँदै ओखलढुङ्गा निस्किएर अघि बढ्ने भएपछि रामेछापवासी खुसी भएका हुन् ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्गको झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नेकपा एमाले रामेछापले पार्टी अध्यक्ष हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो सडकको नक्साङ्कन परिवर्तन गर्न ध्यानाकर्षण पत्र बुझाएको थियो । ओलीले त्यति बेला नै सो सडकलाई छोटो बनाउन  नक्साङ्कन बदल्नु पर्ने राय राख्नु भएको थियो ।

एमाले रामेछापको प्रस्ताव अनुसार नै अब सो सडक चौँरीखोलाबाट रामेछापको गाल्पा हुँदै पुष्पलालको जन्मभूमि भँगेरी निस्किएर साँघुटारबाट ओखलढुङ्गा जिल्लामा छिर्ने भएको छ । साँघुटारबाट ओखलढुङ्गाको घोराखोरी, ओखलढुङ्गा सदरमुकाम हुँदै खोटाङ तर्फ जाने छ ।

नयाँ रेखाङ्कन गाल्पाबाट हुने भए पनि यस अघि मध्यपहाडी लोकमार्गको रूपमा  खनिसकेको सुनकोसी नदी किनारको कालोपत्रे गर्न बाँकी रहेको सडक निर्माण कार्य पनि अघि बढ्ने भएको छ । यसबाट दुवै तर्फ सडक बन्ने भन्दै नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष मोतीलाल तामाङले खुसी व्यक्त गर्नुभयो ।

सो सडकको नक्साङ्कन परिवर्तन भएर पुष्पलालको जन्मथलो भँगेरी छोएर जाने कुराले रामेछापवासीलाई उत्साहित बनाएको नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रामेछापकी सिता खत्री बताउनुहुन्छ । ‘यो पुष्पलाल प्रति सम्मान हो, रामेछापवासीको लागि गौरव हो’, उहाँले भन्नुभयो ।