जनता टाइम्स

१६ जेष्ठ २०८२, शुक्रबार २१:२५

गणतन्त्र दिवसको अवसरमा रक्तदान, बिरामीलाई फलफूल वितरण 


रामेछाप, १६ जेठ। गणतन्त्र दिवसको अवसरमा रामेछापमा रक्तदान कार्यक्रम गरिएको छ ।

शुक्रबार मन्थलीस्थित देवकोटा चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी रामेछापसँगको सहकार्यमा गणतन्त्र दिवस जिल्ला स्तरीय समिति रामेछापको आयोजनामा भएको रक्तदान कार्यक्रममा १५ जना बढीले रगत दान गर्नुभएको छ ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, रामेछापका प्रहरी प्रमुख डिएसपी भोलाप्रसाद भट्ट,नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की, एमाले रामेछापका उपाध्यक्ष हातराज ढकाल लगायतले रक्तदान गर्नुभएको थियो ।

यस अघि शुक्रबार बिहान मन्थलीका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीलाई फलफूल वितरण गरिएको थियो । दिवसको अवसरमा बिहीबार बिहान प्रभात फेरी तथा सभा गर्नुका साथै साँझ देवकोटा चोकमा दीपावली गरिएको थियो । बुधबार बिहान सरसफाइ कार्यक्रम आयोजना गरिएको थियो ।

गणतन्त्र दिवस जिल्ला स्तरीय समिति संयोजक तथा जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्काले  गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइएको जानकारी दिइन् । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिनुभयो ।