काठमाडौं, कात्तिक १९
भारतले हालै सार्वजनिक गरेको देशको राजनीतिक नक्सामा विवादस्पद कालापानी आफ्नो क्षेत्रमा समेटेपछि त्यसको नेपालमा विरोध हुन थालेको छ । लिपुलेकसहितको कालापानीमा नेपालले विगतदेखि दाबी गर्दै आइरहेको छ । तर, भारतले सो भू–भाग आफ्नो भएको सन्देश दिन भारतमा समेटेपछि विवाद श्रृजना भएको हो ।
भारतले यसरी कब्जा गरेको थियो सो क्षेत्र
भारत र चीनबीच सन् १९६२ मा भएको घमासान युद्ध रोकिएपछि भारतीय फौजले सुरक्षात्मक रणकौशलीय क्षेत्र खोज्दै जाँदा कालापानी–लिपुलेकको अवस्थितिलाई उपयुक्त स्थान ठान्यो र उनीहरू त्यहीं अड्डा जमाएर बसे । पहाडी खण्डको नदी छेउमा लगभग समथर रहेका कालापानीे र यसभन्दा पूर्वको दुई अभेद्य पहाडको बीचमा घाँटी परेर लिपुलेक भन्ज्याङ रहेकाले यसैलाई प्रतिरक्षात्मक स्थान ठानियो ।
चीनको ताक्लाकोटतर्फबाट चिनियाँ फौज भारततर्फ आएमा लिपुलेक घाँटीबाट पस्न सक्ने भएको पनि आकलन गरियो । चिनियाँ सेना यदि त्यसै घाँटीबाट छिर्न खोजे गोला बारुदले रोक्न सकिने र लडाइँको खरखजाना सकिएमा भन्ज्याङमाथिको २० हजार २ सय फिट अग्लो डाँडाबाट ढुंगामुढा बर्साएर भए पनि चिनियाँ फौजलाई रोक्न सकिने रणनीति भारतीय फौजले लियो । सुरुमा भारतीय फौजको संख्या थोरै मात्र थियो । दिल्लीले त्यहाँ इन्डो टिबेटन बोर्डर पोस्ट स्थापना गरी फौजको संख्या थप्यो । त्यसताका हाते वायरलेसको सहायताले त्यहाँको गतिविधि दिल्ली र राँची क्यान्टोनमेन्टमा जाहेर गरिन्थ्यो ।
सुगौली सन्धिको धारा ५ मा नेपालको पश्चिमी सिमाना काली नदी भनी उल्लेख गरिए तापनि काली नदीभन्दा पूर्वको लिम्पियाधुरा, कुटी, नावी, गुञ्जी, कालापानी, तुल्सीन्युराङ, नाभिडाङ, लिपुलेक क्षेत्र निकै दुर्गम भएकाले त्यसतर्फ नेपालको कहिल्यै दृष्टि पुगेन । त्यसैले भारतीय फौज त्यहाँ हालिमुहाली गरी बसे । चिनियाँ फौजबाट त्रसित र सशंकित भारतीय दस्ताले कालापानीमा सुदृढ किल्ला बनाए । कालान्तरमा त्यहाँ सातवटा बंकर भवन र दुई प्रशासनिक भवन बनाइयो । जाडोमा हातहतियार गोलाबारुद चिसोले जमोट नहोस् भनी भवनमा ‘हिटिङ सिस्टम’ स्थापना गरियो । सञ्चारयन्त्र सञ्चालनका लागि आधुनिक प्रविधियुक्त बनाइयो । यस्ता संरचनाको स्थापना गरिसक्दा पनि नेपालले थाहा पाउन सकेन वा चासो लिएन । कालापानी क्षेत्रको नेपाली भूभाग भारतीय अर्धसैनिक बलले अतिक्रमण गरेर बसेका छन् भन्ने अधिकांश नेपालीलाई थाहा थिएन ।
जब इन्डो टिबेटन बोर्डर पोस्टका भारतीय जवानले नेपालीलाई कालापानी नाभिडाङ भएर चीनको ताक्लाकोट तथा मानसरोवर तीर्थस्थल जान कडाइ गर्न थाल्यो, तब कालापानीमा भारतीय फौज छ भन्ने जानकारी फैलन थाल्यो । यसपछि कालापानी दक्षिणको माथिल्लो कावा, तल्लो कावा, छाङरुका नेपाली बासिन्दालाई कालापानी क्याम्प भएर आवतजावत गर्न रोक्न थालियो । अनि कालापानी अतिक्रमणबारे कञ्चनपुर, धनगढी, नेपालगन्जतर्फ पनि जानकारी भयो । यसैबीच कालापानी क्याम्पको दक्षिणपूर्वतर्फ एउटा कालीको मन्दिर बनाइयो । पहाडमा उम्रेको जरुवा पानी जम्मा गरी मन्दिर अगाडि सानो पोखरी बनाइयो ।
पोखरीबाट निकालिएको सानो खोल्सीको पानीलाई लिपुलेक नजिकैबाट निस्केको नदीमा लगेर मिसाइने गरियो । त्यसपछि नेपाली स्थानीयवासीलाई ताक्लाकोट जान मन्दिरभन्दा दक्षिणबाट टिड्कर भन्ज्याङको बाटोतर्फ मोडाइयो । यसपछि स्थानीयवासी तथा जिल्ला विकास समितिका सभापति काठमाडौं आउँदा नेपालको कालापानी सिमाना अतिक्रमण भएको कुरा बेलाबखत फाट्टफुट्ट सुनाउने गरिन्थ्यो । दार्चुलाबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमसिंह धामीले अरू प्रकाश पार्ने गर्थे । खासमा नेपालको कालापानी क्षेत्र मिचिएको तथ्यबारे स्थानीय जनताले बोलेको कुरा काठमाडौं पुग्न सकेको थिएन । (सिमाविद् बुद्धिनारायण श्रेष्ठको लेखबाट साभार)
प्रतिक्रिया दिनुहोस्