काठमाडौं, २० जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राज्यले सही नीति अवलम्बन नगर्दा अनौपचारिक आर्थिक अर्थतन्त्र फष्टाएको बताउनुभएको छ ।
नेकपा एमाले केन्द्रीय विज्ञान तथा प्रविधि विभागद्वारा मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सरकारको आगामी वर्षको बजेट: विज्ञान प्रविधि र नवप्रवर्तन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राज्यले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउनु पर्ने बताउनुभयो । यस पटक सरकारले सूचना प्रविधि क्षेत्रको अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउने प्रयास गरेको पोखरेलले बताउनुभयो ।
पोखरेलले विज्ञान, प्रविधिको विकास र उपयोगमा सरकार, निजी क्षेत्र र विश्वविद्यालयहरू मिलेर काम गर्नुपर्ने बताउनुभयो । ‘हाम्रा विश्वविद्यालयहरुले रिसर्चको क्षेत्रमा काम नै गर्न सकेनन्, हाम्रा रिसर्चहरू व्यवहारिक जीवनमा प्रयोग नै भएका छैनन्’, उहाँले भन्नुभयो ।
नेपालमा भएको अध्ययन अनुसन्धान देशको उत्पादन, उत्पादकत्व वृद्धि, सेवा प्रवाह, मानवीय जीवनको सफलता जस्ता कुरासँग जोडिने खालका नभएका उहाँको भनाइ छ । यस क्षेत्रमा नेपालमा भएका अध्ययन अनुसन्धान जोडिन नसकेका पोखरेलले बताउनुभयो । अहिलेको बजेटले यी कुरामा जोड दिन खोजेको पोखरेलको भनाइ छ ।
सरकारले ल्याएको बजेट तथा कार्यक्रममा युवालाई रोजगारीसँग जोड्ने कुरा उल्लेख गरेकोले त्यो भनेको विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गर्ने कुरा भएको पोखरेलले बताउनुभयो । रोजगारीमा जोड्ने भनेको प्राविधिक ज्ञान दिने कुरा नै भएको उहाँको धारणा छ ।
प्रतिक्रिया दिनुहोस्