काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मको आधारमा कोही सानो ठुलो नहुने बताउनुभएको छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आमाको कोखबाट जन्मँदा सबै समान हुने बताउनुभएको छ । जात, थर, उचाे, निचाे लगायतका कुरा हाम्रै समाजले बनाएकोले त्यसलाई हटाउन सकिने ओलीको धारणा छ । ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्, नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो’, ओलीको धारणा छ ।
उहाँले मानवता भन्दा माथि कुनै जात नहुने बताउँदै समै मान्छे एउटै भएका उल्लेख गर्नुभएको छ । ‘मानवता भन्दा माथि कुनै जात छैन, रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ, हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ’, उहाँले दिनुभएको सन्देशमा उल्लेख छ ।
ओलीले समतामूलक समाज आजको आवश्यकता भएको स्पष्ट पार्नुभएको छ । ‘समभाव र समानताको विकास गरौँ, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना’, उहाँले सन्देशमा लेख्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्