रौतहट, २१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देवीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
विद्युतीय गाडीमा सवार १८ वर्षीय रानीकुमारी यादव (रामनगर) र १९ वर्षीय सरोज ठाकुर (दुर्गाभगवती गाउँपालिका–५, बडहर्वा)घाइते छन् ।
दुर्घटनापछि ट्रकचालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्