जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार १८:३४

नीति अनुसारको बजेट नबन्दा कार्यान्वयनमा समस्या : पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, २१ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नीति अनुसारको बजेट नबन्दा कार्यान्वयनमा समस्या हुने गरेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नीति, कार्यक्रम र बजेटमा तादम्यता मिल्नु पर्ने बताउनुभयो । ‘नीतिमा धेरै कुरा उल्लेख गर्ने पैसा नहाल्दिने भएपछि कसरी कार्यान्वयन हुन्छ, हामीले पैसा खोजेर काम गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो ।

गुरुङले सबै लोप हुँदै गएका पशु र कृषिजन्य कुराहरूको सम्मान, संरक्षण र प्रचार गर्ने काम पनि हुलाक सेवा विभागले गर्नुपर्ने अवस्था आएको बताउनुभयो । ‘सबै लोप हुँदै गएको पशु र कृषिजन्य कुराहरूको संरक्षण गर्ने काम हुलाक सेवा विभागले गर्नुपर्ने छ, पशु विज्ञान केन्द्र र कृषि ज्ञान केन्द्रलाई पनि भन्नु पर्ने छ, यति धेरै हाम्रो कृषिको प्रजातिहरू लोप भइसकेका छन्, त्यस कारण पनि हामीले यस्तो कुराहरूमा ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो ।

मानव समाज सभ्यताको बारेमा भावी पुस्ताको लागि काम लाग्ने कुरामा बढी ध्यान दिएर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराज र प्रकृतिलाई जोगाउने महत्त्वपूर्ण प्राणीको टिकटमा टाँचा लगाएको जानकारी दिनुभयो । ‘प्रकृतिलाई जोगाउने अनुशासित प्रयास जो हाम्रो मानव जीवनसँग प्रत्यक्ष संलग्न छन्, उनीहरू बिना हाम्रो जीवन छैन, त्यो महत्त्वपूर्ण प्राणीको टिकटमा टाँचा लगाएका छौँ, अर्को मानवलाई प्रकृतिसँग जोड्ने र फेरि प्रकृतिकै पूजा गर्न सिकाउने राष्ट्रसन्त स्वामी श्री परमानन्द सरस्वती महाराजको टिकटमा टाँचा लगाएका छौँ, यी दुवै विषयको सारै महत्त्व भएको हुनाले यसको संरक्षणको लागि पनि टिकट बनाएको हो’, उहाँले भन्नुभयो ।