जनता टाइम्स

२१ जेष्ठ २०८२, बुधबार २२:२२

रामेछापको गाल्बालाई व्यवस्थित बजार र नागीलाई व्यवस्थित बस्ती बनाइने 


रामेछाप, २१ जेठ । रामेछापको गाल्बा बजारलाई व्यवस्थित पहाडी बजार बनाइने भएको छ ।

रामेछापको खाँडादेवी, सुनापत र दोरम्बा गाउँपालिकाको केन्द्र गाल्बा लाई व्यवस्थित पहाडी बजार बनाउने योजना वाग्मती प्रदेश सरकारले अघि बढाएको हो । त्यसको लागि सर्वेक्षणको काम सुरु गरिएको वाग्मती प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका इञ्जिनियर मनोज तिमिल्सिनाले जानकारी दिए  ।

गाल्बालाई व्यवस्थित बजार र गाल्बा नजिकैको नागीलाई एकीकृत व्यवस्थित बस्ती बनाउने सम्भाव्यता अध्ययनको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । ती स्थानको प्रारम्भिक सम्भाव्यता अध्ययन र स्थानीयसँग छलफल गरिएको छ ।

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ सहितको प्राविधिक टोलीले स्थाीयसँग छलफल र स्थानको प्रारम्भिक अध्ययन गरेको हो । प्रदेश सरकारले तीनवटा पालिकाको केन्द्र गाल्बालाई व्यवस्थित बजार बनाउन लागेकोमा श्रेष्ठले खुसी व्यक्त गर्नुभयो ।

ताल्दुङ, धुस्कोट, सुनडाँडा लगायतका क्षेत्रका मानिसहरूलाई एकैठाउँमा व्यवस्थित रूपमा बसोबासका लागि नागीको बस्ती उपयुक्त रहेकोले सो स्थानमा व्यवस्थित बस्ती बसाउने योजना अघि सारिएको इञ्जिनियर तिमल्सिनाले जानकारी दिनुभयो । यो बस्तीलाई सुविधा सम्पन्न बस्ती बनाइने उहाँले जानकारी दिनुभयो ।

ताल्दुङ, धुस्कोट, सुनडाँडा लगायतका क्षेत्र बसोबासका हिसाबले जोखिमपूर्ण भएकाले नयाँ बस्ती विकासको योजना अघि सारिएको हो ।