जनता टाइम्स

२३ जेष्ठ २०८२, शुक्रबार १३:०२

नयाँ पुस्ता सरकारबाट धेरै अपेक्षा राख्छ र तिखो प्रतिक्रिया दिन्छ : नवराज सिलवाल 


भक्तपुर, २३ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिव नवराज सिलवालले अहिले नयाँ पुस्ताले संसार चलाइरहेका बताउनुभएको छ ।

नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागले भक्तपुरमा आयोजना गरेको प्रचार कार्यशालामा शुक्रबार बोल्दै सिलवालले अहिले ३० वर्ष उमेरसम्मका युवा पुस्ताले नयाँ नयाँ आविष्कार गरेका सुनाउनुभयो । ‘नयाँ युवाको छुट्टै सोच छ, आफ्नै उद्देश्य छ, चिन्ताग्रस्त छ, बचाउन र लगानी गर्न खोज्छ, सरकारबाट धेरै अपेक्षा राख्छ र तिखो प्रतिक्रिया दिन्छ, व्यापक सामाजिक सञ्जाल प्रयोग गर्छ, पोडकाष्टका कुरा गर्छ’, उहाँले भन्नुभयो ।

सिलवालले यो पुस्तालाई पार्टी, राजनीति र देश निर्माणको काममा जोड्नु पर्ने उहाँले बताउनुभयो । ‘त्यो पुस्तालाई नजोड्ने हो भने पार्टी र देश बन्दैन’, उहाँले भन्नुभयो ।

नयाँ पुस्तालाई जोड्न पुरानो पुस्ता उदाहरणीय र भरोसाको प्रतीक बन्नु पर्नेमा उहाँले जोड दिनुभयो । त्यस्तै नेतृत्वमा सुरक्षित भविष्य सहित युवा सहभागितामा जोड दिनु पर्ने उहाँको धारणा छ । यसको लागि संगठित, अनुशासित, जनतासँग जोडिने कार्यकर्ता, आर्थिक, सामाजिक परिवर्तनको एजेण्डा र ऊर्जाशील नेतृत्व आवश्यक रहेको सिलवालले बताउनुभयो ।

नयाँ पुस्ताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सुलभ रूपमा चाहने उहाँले बताउनुभयो । भौतिक, सामाजिक आर्थिक सुरक्षा, न्यायको सुरक्षा र समग्रमा आफ्नो सम्पूर्ण जीवनको सुरक्षा नयाँ पुस्ताले अपेक्षा गरेको उहाँको भनाइ छ । नयाँ पुस्ताले खोजेको समाजवाद स्थापनाको लागि उनीहरूले खोजेको सामाजिक सुरक्षामा जोड दिनु पर्ने सिलवालको भनाइ छ ।