काठमाडौं, असार ६ । अमेरिकामा श्रृंखलावद्ध ठगी गरी ५५ करोडभन्दा बढी रकम नेपाल भित्र्याएको आरोप लागेका अछामका पृथ्वीबहादुर शाहलाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । नेकपा माओवादीका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा निकट रहनुभएका शाहलाई जिल्ला अदालतले ‘कसुर ठहर हुन नसक्ने’ भन्दै सफाइ दिएको हो ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले शाहलगायत २० जना आरोपिलाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश भुसालले ‘पीडितहरू उपस्थित नदेखिएको’ भन्ने मुख्य आधारमा आरोपितहरूलाई सफाइ दिनुभएको छ । गत फागुनको पहिलो साता उक्त मुद्दाको फैसला भएपनि हालसालै पूर्णपाठ आएको हो । न्यायाधीश खिमानन्द भुसालले पृथ्वीबहादुर शाह र उनको खाताबाट रकम ट्रान्सफर भएका आरोपितहरू सबैलाई ठगीको आरोपबाट सफाइ दिनुभएको छ ।
सफाइ दिने आधार हेर्दा भुसालले पीडित र उजुरीकर्ताले लेखाएको विवरणको विश्लेषणलाई महत्व नदिएको देखिएको छ । फैसलामा शाहलगायतले अदालतमा दिएको बयानलाई विश्वास गरेर निर्दोष ठहर गरेको देखिएको छ । जिल्ला अदालतले वैधानिक मार्गबाट नै रकम प्राप्त गरेको भन्दै त्यसलाई सफाइ दिने आधार बनाएको हो । पूर्णपाठमा भनिएको छ, ‘आरोपितहरूको खातामा कसैले रकम जम्मा गरिदिएको र (यहाँ) झिकेको भन्ने कुरालाई ठगी गरेको भन्न मिल्ने नदेखिने ।’
ठगी आरोपबाट सफाइ पाएका शाहलाई जिल्ला अदालतले लिखत किर्तेको अभियोगमा भने दोषी ठहर गरेको छ । अदालतको यो फैसलापछि २०७९ पुस २२ गते पक्राउ परेका शाह किर्तेको आरोपमा साढे दुई वर्ष कैद भुक्तान गरेपछि आगामी असार २१ गते जेलमुक्त हुने भएका छन । नेपालको अन्तर्राष्ट्रिय छविमाथि नै प्रश्न उठ्ने खालको आपराधिक गतिविधिबाट आर्जित रकम नेपाल ल्याएको घटनामा अछामका शाह जोडिनुभएको थियो । अमेरिकाका एक जना पीडितले सर्वोच्च अदालतमै कानुनी उपचारको प्रक्रिया थालेका थिए ।
अमेरिकाको नर्थ क्यारोलिना बस्ने स्टेफेन फार्मरका बाबु जेम्स फार्मरले खारेज भइसकेको एक कम्पनीबाट ४८१ डलर पाउनुपर्ने थियो । रकम फिर्ताका लागि सहजीकरण गरिदिने भन्दै जेम्स मोर्गान भन्ने व्यक्तिले स्टेफेनलाई सम्पर्क गरे । स्टेफेनको खातामा ४ लाख ८१ हजार डलर जम्मा भएको ‘नक्कली नोटिफिकेसन’ गयो । ४८१ डलर आउनुपर्नेमा ४ लाख ८१ हजार डलर डिपोजिट भएको नोटिफिकेसन आएपछि स्टेफेनले एजेन्टको काम गर्ने जेम्स मोर्गानलाई सम्पर्क गरे ।
जेम्स मोर्गानले झुक्किएर डिपोजिट भएको भन्दै त्यो रकम फिर्ता गरिदिन आग्रह गरे । र, खाताबाट तानिएकोमध्ये ३ लाख ५० हजार डलर एजेन्टको योजनाअनुसार ६ जेठ २०७८ मा नेपालस्थित टाइम्स टुडे पिस होलिडे इन्भायोरमेन्ट प्रालिको खातामा जम्मा गरे । सो कम्पनीका सञ्चालक अछामका पृथ्वीबहादुर शाह नै रहेकोपछि पत्ता लाग्यो ।
अस्वाभाविक रूपमा रकम भुक्तानी भएपछि बैंकले स्टेफेन फार्मरलाई सम्पर्क गर्यो । कुराकानी हुँदा उनले आफ्नो खातामा ४ लाख ८१ हजार डलर जम्मा नभएको र नक्कली नोटिफिकेसन पठाएर आफूलाई झुक्याएको थाहा पाए । तत्काल उनले कारोबार रद्द गरिदिन अनुरोध गरे, तर त्यतिञ्जेल ढिला भइसकेको थियो । उनी बैंकको नियमित सम्पर्कमा थिए । लगत्तै अमेरिकाको उक्त बैंकले सरकारी संयन्त्रहरूमार्फत कुमारी बैंकमा सन्देश पठाएर रकम भुक्तानी रोक्न आग्रह गर्यो ।
दरबारमार्गको टाइम्स टुडे पिस होलिडे इन्भायोरमेन्ट प्रालिको खातामा जम्मा भइसकेको रकम राष्ट्र बैंकको आदेशबाट रोक्का गरियो । वित्तिय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)ले उक्त रकम भुक्तानी रोक्न नेपाललाई पत्राचार गरेको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले घटनामाथि छानबिन थाल्यो ।
सिआइबीको अनुसनधानबाट शाहको समूह संलग्न भएका विभिन्न कम्पनीहरूमा अमेरिकाबाट करिब ४० करोड रुपैयाँ नेपाल भित्र्याएको खुल्यो । अमेरिकाबाट ट्रान्सफर भएकोमध्ये केही रकम खातामा बाँकी थियो भने अरू रकम झिकिएको भेटियो । राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले रकम रोक्का गरिदियो । त्यही सिलसिलामा अमेरिकी नागरिक स्टेफेन फार्मरले आफ्नो रकम झुक्याएर ‘ट्रान्सफर’ गरिएको र त्यो गैरकानुनी रूपमा नेपाल ल्याइएको भन्दै नेपालका विभिन्न निकायमा उजुरी दिएका थिए । उनले त्यो रकम तत्काल आफूले फिर्ता पाउनुपर्ने भनी सर्वोच्च अदालतमा समेत निवेदन दिएका छन् ।
अनुसन्धान हुँदा शाहको समूहले नेपाल भित्र्याएको रकम तत्काल खाताबाट झिकेको हुन्थ्यो । रकम भित्र्याउन मात्रै उनीहरूको समूहले ट्राभलसम्बन्धी करिब एक दर्जनभन्दा बढी कम्पनी खडा गरेको तथ्य पनि अनुसन्धानको क्रममा खुलेको छ । शाहले कतै अमेरिकामा पर्यटकबाट संकलित रकम नेपाल पठाइएको जिकिर गरेका थिए भने कतै नेपालका लागि भित्र्याइएको व्यापारिक लगानी भनेका थियो । अधिकांश कारोबारमा अमेरिकाको फिनसेनले प्रश्न उठाएको थियो । उसले ठगी, राजस्व छली लगायतका क्रियाकलापबाट आर्जित रकम नेपाल भित्र्याइएकाले रोक्का राख्न र फिर्ता गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
उक्त कारोबारमा अछामका शाहसहित भाइ विजयविक्रम शाह, उनीहरूको कम्पनीमा काम गर्ने भनी खुलाइएका लक्ष्मण रेग्मी लगायतको नाम रहेको छ । त्यतिबेला नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू)ले ‘अति गोप्य अन्तर्राष्ट्रिय सूचना सञ्जालमार्फत प्राप्त जानकारी’ भन्दै अनुसन्धान गर्दा ‘एउटै समूहसँग आवद्ध केही व्यक्ति÷संस्था यस्तो कारोबारमा संलग्न देखिँदै आएको’ निष्कर्ष निकालेको थियो ।
वारेसमार्फत सर्वोच्च अदालतमा निवेदन पेस गरेका अमेरिकी नागरिक स्टेफन फार्मरले आफ्नो रकम फिर्ताका लागि राष्ट्र बैंकबाट कुनै सहयोग नभएको बरु उल्टै आफूलाई ठग्ने समूहले रकम फिर्ता पाउन प्रयासरत रहेको’ भन्दै लिखित असन्तुष्टि जनाएका थिए ।
प्रहरीले पृथ्वीबहादुर र उनको समूहको खाता एवं कम्पनीहरूमा ४५ लाख ४६ लाख अमेरिकी डलर आएको दाबी गरेको थियो । त्यस क्रममा २२ हजार पाउन्ड र ३ लाख ४० हजार क्यानेडियन डलर पनि भित्रिएको प्रहरीको अभियोग छ । पीडितहरूको विवरण केलाउँदा ४२ लाख ४४ हजार अमेरिकी डलर ठगिएको अर्को विवरण उल्लेख छ । सानो र खुद्रे रूपमा अनलाइनबाट ठगिएकाहरूको विवरण उजुरीमा समावेश छैन । यो रकम मुद्दा दायर हुने दिनको विनिमय दरअनुसार करिब ५५ करोड रुपैयाँ हो
खातामा आएलगत्तै ट्रान्सफर
त्यतिबेला यो घटनाको अनुसन्धान गरेका राष्ट्र बैंकका एक अनुसन्धान अधिकृतका अनुसार, अमेरिकाबाट ल्याइएको त्यो रकम भारत भित्र्याउने क्रममा पृथ्वीबहादुरको समूह प्रयोग भएको थियो । आरोपपत्रमा टिकट र ट्राभल बापतको रकम भारतीय नागरिक अर्सद खानबाट प्राप्त हुनुपर्ने भन्ने विवरण खुलाइएको छ । नेपाली मुलका अष्ट्रेलियन नागरिक मनमोहन सिंह र सिंगापुर बस्ने भारतीय नागरिक आकाश झाको सहजीकरणका लागि उक्त रकम हन्टिङ रिजर्भ अफ नेपाल प्रालिको व्यावसायिक प्रयोजनमा प्रयोग भएको उल्लेख छ ।
पृथ्वीबहादुर र उनले स्थापना गरेका कम्पनीहरूमा विदेशबाट रकम आउनासाथ तत्काल विभिन्न कम्पनी र व्यक्तिका नाममा भुक्तानी हुन्थ्यो । उनले सञ्चालक रहेको वल्र्ड एक वर्क कन्सल्टेन्स प्रालिको नाममा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ५७ लाख ४८ हजार रुपैयाँ आयो । पर्यटकको शुल्क भनेर आएको सो रकम पृथ्वीका भाइ विजयविक्रम शाहका नाममा भुक्तानी भयो । भोलिपल्ट थप १ करोड १५ लाख रुपैयाँ भित्रियो । त्यो रकम तत्काल पृथ्वीबहादुर संलग्न अर्को कम्पनी, उनका भाइ, रुकमाङ्गद काफ्ले र देवेन्द्र ढुंगानाका नाममा भुक्तानी भएको थियो ।
वल्र्ड ट्राभल्स एन्ड इन्भेष्टमेन्ट प्रालिको सिद्धार्थ बैंकको खातामा ३ मार्च २०२१ (१९ फागुन २०७७) मा ६९ लाख ५० हजार ६२२ रुपैयाँ जम्मा भयो । लगत्तै त्यो रकम गहना पसल र अरु विभिन्न व्यक्तिका नाममा बाँडियो । वल्र्ड फस्र्ट होलिडे र वल्र्ड फस्र्ट जब प्लेसमेन्ट प्रालिको खाताबाट पनि त्यसैगरी शंकास्पद कारोबार भएको थियो, जसलाई राष्ट्र बैंकको एफआईयूले ट्र्याकिङ गरेको थियो ।
राष्ट्र बैंकको अनुसन्धानअनुसार, अमेरिकाका ट्राभल कम्पनीहरूले संकलन गरेको रकम नेपाल पठाएको दाबी गरे पनि त्यो यथार्थ थिएन किनभने कैयौं खातामा व्यक्तिगत रूपमा रकम आएका थिए । अर्कोतर्फ, जसको खाताबाट रकम भुक्तानी भएको भनिएको थियो, उनीहरूले पछि आफू ठगिएको, छलछाम भएको र झुक्याएर खाताबाट रकम झिकिएको भनी उजुरी गरेका छन् ।
स्टेफन फार्मर आफ्नो वारेसमार्फत सुरु गरेको कानुनी प्रक्रियाले उक्त रकम ठगीबाट आर्जित हो भन्ने थप पुष्टि हुने जिकिरसहित प्रहरीले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले २०७९ फागुन २३ गते अदालतमा पेस गरेको आरोपपत्रमा पीडितहरू ठगिएको रकम र आरोपितहरूको खातामा आएको रकमको विवरण फरकफरक छ ।
प्रहरीले पृथ्वीबहादुर र उनको समूहको खाता एवं कम्पनीहरूमा ४५ लाख ४६ लाख अमेरिकी डलर आएको दाबी गरेको थियो । त्यस क्रममा २२ हजार पाउन्ड र ३ लाख ४० हजार क्यानेडियन डलर पनि भित्रिएको प्रहरीको अभियोग छ । पीडितहरूको विवरण केलाउँदा ४२ लाख ४४ हजार अमेरिकी डलर ठगिएको अर्को विवरण उल्लेख छ । सानो र खुद्रे रूपमा अनलाइनबाट ठगिएकाहरूको विवरण उजुरीमा समावेश छैन । यो रकम मुद्दा दायर हुने दिनको विनिमय दरअनुसार करिब ५५ करोड रुपैयाँ हो ।
त्यसरी हेर्दा अमेरिका र नेपालमा उजुरी नदिएका अरु कैयौं पीडितहरू पनि ठगिएको हुनसक्ने अनुमान छ । तर अदालतले पुष्टि भएन भन्दै सफाइ दिएको छ । ‘ठगीबाट आएको भने पनि उक्त नोटमा पृथ्वीबहादुरहरूको नाम उल्लेख भएको समेत देखिन आएन’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘त्यो रकम राष्ट्र बैंकले अवैध बाटोबाट आएको भनी स्पष्ट साथ भन्न सकेको छैन ।’ शाहलाई माओवादी नेताहरुले संरक्षण गर्दै आएका छन । सोही कारण अदालतमा प्रभाव पारिएको आशंका गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्