रामेछाप, १० असार । रामेछापको सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनामा भइरहेको चरम ढिलासुस्ती र लापरबाहीप्रति नेपाली कांग्रेस रामेछाप नगर कार्यसमितिले गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेसले निर्माण आयोजनालाई ध्यानकर्षणपत्र बुझाउँदै आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । सडक निर्माणमा पटक–पटक म्याद थपिए पनि अपेक्षित प्रगति नदेखिएको र सर्वसाधारणको जनजीवन नै अस्तव्यस्त भएको उल्लेख गर्दै कांग्रेसले योजना तीव्र रूपमा अघि नबढे आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । नगर कार्यसमितिका सभापति कमलविक्रम कार्कीले हस्ताक्षर गरी बुझाइएको ध्यानाकर्षणपत्रमा विकासका नाममा भइरहेको बेथिति, लापरबाही र नागरिक जीवनमा परिरहेको असरप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ।
राष्ट्रिय गौरवको आयोजनामध्ये मानिएको सेलेघाट–रामेछाप–साँघुटार सडक निर्माणको काम लामो समयदेखि अलपत्र अवस्थामा छ। आयोजनाका तीन पटकसम्म म्याद थपेर पनि काममा तीव्रता दिन नसकेको कांग्रेसको आरोप छ। रामेछाप बजार क्षेत्रमा मुआब्जा वितरण भइसकेको अवस्थामा समेत निर्माण कम्पनीले चरम लापरबाही देखाउँदै काम नगरेको भन्दै जनप्रतिनिधिमाथि समेत अपमानजनक व्यवहार भएको कांग्रेसले जनाएको छ।
कांग्रेसले बजार क्षेत्रको बाटोलाई तत्काल कालोपत्रे नगरे कार्यालय र निर्माण कम्पनीविरुद्ध १५ दिनभित्र सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ। स्थानीय सरकार र सरोकारवाला निकायले पटक–पटक ताकेता गरे पनि कुनै सुनुवाइ नभएकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ।
ध्यानाकर्षणपत्र मार्फत कांग्रेस नगर कार्यसमितिले क्षतिको मूल्याङ्कन र पुनःव्यवस्थ गर्न माग गरेको छ । सडक आयोजनाको कामले वासस्थान, खेतीपातीयोग्य जमिन, सिँचाइ कुलो, खानेपानी पाइपलाइन, पाटी–पौवा, चौतारा र धार्मिक स्थलहरूमा क्षति पुर्याएको भन्दै ती संरचनाको यथोचित पुनः व्यवस्था गर्न माग गरिएको छ।

सडकमा रहेका खाल्डाखुल्डीका कारण एम्बुलेन्सजस्ता आपत्कालीन सवारी साधनसमेत सञ्चालन गर्न मुस्किल परेको भन्दै तत्काल मर्मत र व्यवस्थापन गर्न आग्रह गरिएको छ। ठेक्कामा समावेश भए पनि बायोइन्जिनियरिङ सम्बन्धी कार्य सुरु नभएको भन्दै तत्काल सुरु गर्नुपर्ने माग ध्यानकर्षणपत्रमा गरिएको छ।
सडक निर्माणका क्रममा निर्माण गरिएका संरचनाहरू केही समयमै क्षतिग्रस्त भएकाले ती संरचनाहरूको पुनः निर्माण तत्काल गरिनुपर्ने माग कांग्रेसको छ । निर्माण कम्पनीले सहायक निर्माण व्यवसायीहरूलाई भुक्तानी नदिँदा ज्यालादारी श्रमिकसमेत मारमा परेको भन्दै सबै भुक्तानी तुरुन्त प्रदान गर्न पनि माग गरिएको छ।
रामेछाप–सालु–देउराली हुँदै साँघुटारसम्मको सडकमा सवारी सञ्चालन अत्यन्त कठिन भएको भन्दै वर्षातमा समेत सवारी साधन नियमित चल्न सक्ने गरी सडक मर्मत तत्काल गर्न र पहिरो जोखिम भएका क्षेत्र पहिचान गरी जेसिभीको प्रयोगमार्फत सडक खुलाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ। ‘माथि उल्लेखित बुँदाहरू तदारुकतापूर्वक कार्यान्वयन नगरेमा नेपाली कांग्रेस रामेछाप नगर कार्यसमितिको अगुवाइमा जनस्तरबाट सशक्त आन्दोलन गर्नेछौँ’, कांग्रेसले चेतावनी दिएको छ ।














प्रतिक्रिया दिनुहोस्