काठमाडौं, १० असार । अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित सुजन कडरियाकाे नयाँ नेतृत्वलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।
ललितपुर च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा महासचिव पोखरेलले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्दै विद्यार्थी आन्दोलनप्रति विश्वास र आशा बोकेको नयाँ नेतृत्वको स्वागत गर्नुभएको हो ।
उहाँले अनेरास्ववियुलाई ‘ऊर्जाशील युवा विद्यार्थीको संगठित भरोसा’को रूपमा चित्रण गर्दै वर्तमान नेतृत्वलाई संगठित आन्दोलनलाई नयाँ उचाइमा पुर्याउने अवसरको रूपमा लिन सुझाव दिनुभयो।
महासचिव पोखरेलले विजयी सबै पदाधिकारीहरूलाई बधाई दिँदै उहाँहरूबाट विद्यार्थी आन्दोलन अझ सशक्त, विचार प्रधान र अनुशासित हुने अपेक्षा व्यक्त गर्नुभयो।
उहाँले नयाँ नेतृत्वले वर्तमान शैक्षिक प्रणालीको विकृति, गुणस्तरहीनता, विद्यार्थी हक–हितको उपेक्षा, र बेरोजगारी जस्ता चुनौतीहरूलाई केन्द्रमा राखेर आन्दोलनको दिशा निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो।
शुभकामना कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य तथा केन्द्रीय जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पार्टी केन्द्रीय सदस्य तथा विद्यार्थी विभाग इन्चार्ज किशोर विक्रम मल्ल, निवर्तमान अध्यक्ष समिक बडाललगायतका नेताहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्