जनता टाइम्स

१५ असार २०८२, आईतवार ०९:१०

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प


राँझा (बाँके), १५ असार । सञ्चालकहरूको आन्तरिक विवादले नेपालगञ्जको धम्बोझीस्थित वाटर पार्कमा पर्यटन प्रवर्द्धनका गतिविधि रोकिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१ र १८ मा अवस्थित वाटर पार्क सञ्चालनको जिम्मा पाएको बोटे बोरा प्रालिका सञ्चालक बीचको विवादले विगत एक वर्षदेखि वाटर पार्कमा जलयात्रालगायत पर्यटन प्रवर्द्धनका गतिविधि ठप्प छन् ।

काठमाडौँ महानगरपालिका–२६ निवासी बोटे बोरा प्रालिका सञ्चालकबीचमा नेपालगञ्जको वाटरपार्कमा मोटरबोट डुङ्गा सञ्चालनका लागि ५०–५० प्रतिशत सेयर लगानीको सम्झौता भएको जनाइएको छ ।

वाटरपार्कमा जलयात्राका लागि दुईथान मोटरबोट सञ्चालन हुँदै आएकामा सञ्चालकहरूबीचको आन्तरिक कलहले हाल एक थान मात्र मोटरबोट सञ्चालन हुँदै आएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाबाट वार्षिक रु २४ लाखमा १० वर्षका लागि वाटरपार्क सञ्चालनको सम्झौता भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले वाटरपार्कलाई आन्तरिक पर्यटकीय क्षेत्र बनाउन निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिएको बताउनुभयो ।

वाटरपार्क सञ्चालनको जिम्मा पाएका सञ्चालकबीच असमझदारी सृजना भएको जानकारी आफूसँग आएको उल्लेख गर्दै उहाँले सञ्चालकबीचको विवादले ताललाई अस्तव्यस्त बनाउन नहुनेमा आफू सजग रहेको बताउनुभयो ।