जनता टाइम्स

१६ असार २०८२, सोमबार ०९:०४

चारवटा संसदीय समितिका बैठक आज : प्रहरी ऐनदेखि शिक्षा विधेयकमाथि छलफल र न्यायाधीश सुनुवाइ हुँदै 


काठमाडौं, १६ असार। संघीय संसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छन् ।

राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बोलाइएका छन् ।

बिहान ८ बजेबाट संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बसेको छ। उक्त बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तथा न्याय परिषद्का सदस्यहरूको सुनुवाइ गर्ने कार्यसूची छ । हालसम्म सुनुवाइ प्रक्रियाबाट बाँकी रहेका उम्मेदवारहरूबारे संसदीय समितिको निर्णय आज आउने सम्भावना छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान  ८:३० बजेबाट सुरु भएको छ ।  बैठकमा विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय गरिएको छ। नयाँ शिक्षा नीति र संरचनालाई विधेयकमार्फत कानुनी स्वरूप दिने तयारीमा रहेको सरकारले सो प्रतिवेदनका आधारमा छलफल अघि बढाउनेछ।

राज्य व्यवस्था तथा सुशासन समिति र  विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजेबाट बस्दै छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ माथि सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि विस्तृत छलफल हुनेछ । समितिमा सरकारले ल्याएको प्रहरी संरचना, नियुक्ति, सरुवा तथा अनुशासनसम्बन्धी व्यवस्थामाथि असहमति जनाउँदै केही सांसदले सुधारका लागि संशोधन दर्ता गराएका छन्।

त्यसै गरी विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ । नयाँ विधेयकले भन्सार प्रशासनलाई डिजिटल प्रणालीमार्फत पारदर्शी बनाउने, व्यापारमैत्री बनाउने र राजस्व चुहावट नियन्त्रण गर्ने लक्ष्य राखेको बताइएको छ।