काठमाडौं, २६ असार । वर्षाको कारण बिपी राजमार्ग बेला बेलामा ठाउँ ठाउँमा अवरुद्ध हुन लागेपछि त्यसको प्रभाव सबै क्षेत्रमा देखा पर्न थालेको छ ।
बिपी राजमार्गमा समस्या आउँदा त्यसको प्रभाव खाँडादेवी मन्दिरमा दर्शन गर्न आउने यात्रीमा समेत परेको छ । वर्षाको कारण बिपी राजमार्गको यात्रा असहज बन्दै गएपछि काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रे लगायतका क्षेत्रबाट रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवी दर्शन गर्न आउने दर्शनार्थीहरुको सङ्ख्या ह्वात्तै घटेको छ ।
उपत्यकाबाट दैनिक गाडी रिजर्भ गरेर खाँडादेवी दर्शन गर्न आउने यात्रीहरू असार लागेपछि मन्दिर आउन छाडेका छन् । बाटोमा के हुन्छ भन्ने डरको कारण मन्दिर आउने भक्तजनको सङ्ख्या घटेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ । ‘अहिले वरिपरिका स्थानीय बाहेक बाहिरका भक्तजनहरू आगमन शून्य जस्तै भएको छ’, उहाँले भन्नुभयो ।
साउन महिना भगवानकाे दर्शनको लागि सबैभन्दा उत्तम महिना मानिन्छ । तर सडकमा समस्या हुँदा भक्तजनहरू मन्दिर आउन सकिरहेका छैनन् ।
खाँडादेवीलाई निक्कै पौराणिक र ऐतिहासिक मन्दिर मानिन्छ । यसको चर्चा देवी भागवत महापुराण र शिवपुराणको हिमवत् खण्डमा पनि गरिएको छ ।
मन्दिर विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला दरबारले चढाएको सुन र चाँदीको जन्तर पनि सुरक्षित छन् ।

नेपाल एकीकरण गर्ने क्रममा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।
अहिले खाँडादेवी विकास कोषले बडादशैँ र चैतेदशैँमा कोषको तर्फबाट यो पूजा गर्दै आएको छ ।
खाँडादेवी मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बनेको छ । दुवै धर्म मान्ने मानिसहरू यहाँ दर्शन र पूजा गर्न आउने गर्दछन् । अझ यो मन्दिरका पुजारी नै तामाङहरू भएकाले पनि यसले धार्मिक, जातीय र सामाजिक सहिष्णुतालाई थप बलियो बनाएको छ ।
खाँडादेवी मन्दिरसम्म जाने सडक सहज बनाउने हो भने मन्दिरमा बाह्रै महिना दर्शन गर्ने मानिसहरूको भिड लाग्ने देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्