जनता टाइम्स

२७ असार २०८२, शुक्रबार १०:०६

आकर्षक पर्यटकीय गन्तव्य बनाउन  सि‌ँगारिँदै पकरबासकाे मदन भण्डारी पार्क 


रामेछाप, २७ असार । खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी सामुदायिक वनमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक र घुमफिर गर्नेहरूका लागि आकर्षक गन्तव्य बन्न थालेको छ।

जिल्ला सदरमुकाम मन्थलीबाट करिब आधा घण्टाको दूरीमा पर्ने सो पार्क सल्लेनी वनको शान्त र हरियालीयुक्त वातावरणमा रहेको छ। गर्मी याममा मन्थलीबाट गर्मी छल्न तथा खाँडादेवी मन्दिर दर्शन गर्न जानेहरू पार्कमा पुग्ने क्रम बढ्दै गएको वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो।

उहाँका अनुसार सुरुमा गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर पार्कको डीपीआर तयार पारेको थियो। त्यसपछि वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपैयाँ बजेट प्राप्त भई पार्कमा शौचालय, कम्पाउण्ड, मदन भण्डारीको सालिकलगायत संरचना निर्माण गरिएको हो।

पार्कमा पिकनिक स्पोटको सुविधा विस्तार गर्न वडा कार्यालय र गाउँपालिकाले खानेपानी, किचनलगायतको व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो।

जिल्ला वन कार्यालयको सहकार्यमा फोहाेरा सहितको पोखरी निर्माण गरिएको पोखरी निर्माण  उपभोक्ता  समितिका अध्यक्ष घनश्याम सार्की बताउनुहुन्छ । पोखरी निर्माण वन कार्यालयको सहयोगमा भएको भए पनि बाहिरका अन्य स‌ंरचना वन कार्यालयको बजेटबाट भएको उहाँले जानकारी  दिनुभयो ।

पार्कभित्र ढुङ्गा छाप्ने कामसमेत गरिएको र थप संरचना निर्माणका लागि गाउँपालिका र वडाबाट बजेट विनियोजन गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो।

पार्कको हरियाली बढाउन खाँडादेवी गाउँपालिकाको युवा परिषद्ले गत वर्ष र यो वर्ष पनि विभिन्न जातका बिरुवा रोपेको छ। परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्काले विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक स्थलमा रुख रोप्ने अभियान सञ्चालन भइरहेको बताउनुभयो।

एक वर्ष भित्र पार्कलाई आकर्षक बनाउने वडाध्यक्ष पौडेलले बताउनुभयो । ‘यो वर्षभित्र पार्कलाई व्यवस्थित बनाएर खाँडादेवीकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने हाम्रो योजना छ’, वडाध्यक्ष पौडेलले भन्नुभयो ।