रामेछाप, २७ असार । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रम, सेवा र योजना सम्बन्धी समग्र विवरण सार्वजनिक गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।
नगर सभाहलमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटालगायत वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाजका प्रतिनिधि तथा सेवाग्राहीको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठले नगरपालिकाको वर्षभरको गतिविधि जनसमक्ष राख्दै समीक्षा गर्ने अवसर सार्वजनिक सुनुवाइमार्फत सुनिश्चित गरिएको बताउनुभयो। ‘जनताको चाहना, सुझाव र आलोचना सुन्न सार्वजनिक सुनुवाइ एक अवसर हो, सबै कुरा आरोप र प्रत्यारोप होइन, सहकार्यबाट समाधान सम्भव हुन्छ’, उहाँले भन्नुभयो ।
उहाँले स्थानीय सरकारको सीमित स्रोतबिच सेवा प्रवाह, विकास निर्माण तथा संस्थागत सुधारमा निरन्तर लागिरहेकाले समालोचना र सुझावले झन् प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनको बेला बनाइएको घोषणापत्रका सबै बुँदाहरू पूरा नभए पनि सोही दिशामा अगाडि बढ्न जनप्रतिनिधि प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले नगरपालिकाले आव २०८१/८२ मा सञ्चालन गरेका कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार यस वर्ष आन्तरिक आम्दानीतर्फ ३ करोड ८५ लाख रुपैयाँ लक्ष्य राखिएकोमा ३ करोड ७७ लाख ५७ हजार ४१७ रुपैयाँ सङ्कलन भई ९८ प्रतिशत लक्ष्य प्राप्त गरिएको छ।
उक्त आर्थिक वर्षमा स्वीकृत कुल बजेटको ८५.८८ प्रतिशत कार्यान्वयन भएको जनाइएको छ। वर्षभर ६ सय २९ वटा योजना राखिएकामा ५ सय ९६ योजना सम्झौतामा भए । जसमा ५ सय ९२ योजनाको भुक्तानी भइसकेको छ। बहुवर्षीय योजना अन्तर्गत २५ योजना ठेक्का प्रणालीबाट कार्यान्वयन भएका छन्।
विपद् व्यवस्थापनतर्फ बाढी पहिरोले अवरुद्ध पारेका सडक तत्काल खोल्ने, त्रिपाल, ग्याविन जाली, पानीको पाइपलगायत राहत सामग्री वितरण गरिएको छ। त्यस्तै संघीय सरकारबाट विनियोजित ५० लाख रुपैयाँ बजेटबाट २४ वटा पुनर्निर्माण योजना सञ्चालन गरिएको छ।

शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, बाल अधिकार, महिला सशक्तीकरण, सामाजिक सुरक्षा र सेवा प्रवाहका विविध पक्षहरू कार्यक्रममा समावेश भएका थिए। बालमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत नगरका सबै १४ वडालाई २०८२ जेठ २८ गते बालमैत्री वडा घोषणा गरिएको छ । अब नगरस्तरमा बालमैत्री नगर घोषणा प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
स्वास्थ्य सेवा क्षेत्र सुधारका लागि नगर अस्पतालमा आँखा सेवा, दन्त सेवा र फिजियोथेरापी सेवा थप गरिएको छ। अस्पताललाई प्रदेशस्तरीय अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो।
नगर क्षेत्रका ५७ हजार ८ सय जनाले उपचार सेवा लिएका छन्। फोक्सो परीक्षण गरिएका ५ सय १२ जनामध्ये ६ जनामा क्षयरोग पत्ता लागेको छ। स्वास्थ्य पूर्वाधार विस्तार अन्तर्गत वडाहरूमा स्वास्थ्य चौकी निर्माण गरिनुका साथै सुरक्षित मातृत्व केन्द्र निर्माण कार्य सम्पन्न भएको छ।
कृषिमा आत्मनिर्भरता र व्यावसायिकता अभिवृद्धिका लागि गाई, बाख्रा, च्याउ, तरकारी, फलफूल खेती प्रवर्द्धन गरिएको छ। डेरी उद्योगमा संलग्न ८ सय३९ जना किसानलाई प्रति लिटर २ रुपैयाँ ५० पैसा दरमा दुग्ध अनुदान वितरण गरिएको छ।
रेबिज नियन्त्रणका लागि २ सय ५३ वटा कुकुरको स्थायी बन्ध्याकरण र खोप कार्यक्रम सम्पन्न गरिएको छ। नगर क्षेत्रमा सुक्खा क्षेत्रका लागि पानी सञ्चय प्रणाली, कृषि पोखरी तथा सिँचाइ पूर्वाधार विस्तार कार्यक्रमसमेत सञ्चालित छन्।
शिक्षा क्षेत्रमा शिक्षक दक्षता अभिवृद्धि, गणित शिक्षामा नवप्रवर्तन, आइसीटीको प्रयोग, पोषण अभिवृद्धि कार्यक्रम, छात्रवृत्ति तथा अपाङ्गता परिचयपत्र वितरण जस्ता कार्यक्रम सञ्चालन गरिएका छन्। विपन्न परिवारका १ सय ५४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
सामाजिक सुरक्षातर्फ महिला, बालबालिका, अपाङ्गता भएका नागरिक तथा ज्येष्ठ नागरिकलाई लक्षित विभिन्न सेवा नियमित रूपमा सञ्चालन गरिएको छ। वैदेशिक रोजगार पीडितसम्बन्धी ४५ उजुरीमध्ये २२ उजुरी समाधान गरिएको छ भने ठगीमा परेको रकममध्ये ७ लाख ४५ हजार रुपैयाँ असुल उपर गरिएको जनाइएको छ।
महिला हिंसामा परेका २२ जनालाई सेफ हाउसमा राखी अस्थायी आवास, उपचार, मनोसामाजिक परामर्श तथा परिवार पुनर्मिलन सेवा प्रदान गरिएको छ। नागरिकता, जन्म, मृत्यु, बसोबास, विवाह, सम्बन्ध विच्छेदलगायत विविध नागरिक सेवा नियमित रूपमा प्रवाह भइरहेको छ।
सूचना प्रविधिको उपयोग विस्तार गर्न सेवा प्रवाहमा अनलाइन प्रणालीको प्रयोग गरिँदै आएको छ भने थप व्यवस्थित सेवा प्रदान गर्न आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी दिइयो। नगरपालिका परिसरमा आधुनिक नगर भवनको निर्माणसमेत योजना चरणमा रहेको बताइएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँको बजेट पारित गरिसकेको छ। सो बजेटमा बालमैत्री नगर घोषणा, फोहोर मैला व्यवस्थापन, स्वास्थ्य सेवा स्तरोन्नति, दुग्ध–मासुमा आत्मनिर्भरता, सूचना प्रविधिको सुदृढीकरण र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिइएको छ।
कार्यक्रममा वडा अध्यक्ष, नागरिक समाज, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले मन्तव्य राख्दै नगरपालिकाको सेवा प्रवाह, योजना छनोट तथा बजेट विनियोजनमा अझ पारदर्शिता, सहभागिता र जबाफदेहिता आवश्यक रहेको सुझाव दिएका थिए।
नगर प्रमुख श्रेष्ठले विगतको अनुभवका आधारमा आगामी वर्ष थप परिणाममुखी र जनमुखी सेवा सुनिश्चित गर्न सबै क्षेत्रको साथ र सुझाव आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सुनुवाइको अभ्यासलाई संस्थागत बनाउन नगर कार्यपालिका कटिबद्ध रहेको बताए।













प्रतिक्रिया दिनुहोस्