जनता टाइम्स

२८ असार २०८२, शनिबार ११:११

रामेछापकाे उमाकुण्डमा याेग प्रशिक्षण 


रामेछाप, २८ असार ।‘योग सिकौँ, योग सिकाऔँ’ भन्ने मूल नाराका साथ रामेछापको उमाकुण्ड गाउँपालिकामा एक सातासम्म सञ्चालन भएको योग शिक्षक तालिम शनिबार सम्पन्न भएको छ।

गाउँपालिकाको आयोजनामा नेपाल योग इन्स्टिच्युट एण्ड रिट्रिट, काठमाडौंको प्राविधिक सहयोगमा भएको यो तालिम असार २२ गते आइतबारदेखि सुरु भई असार २८ गते शनिबारसम्म सञ्चालन गरिएको हो। गाउँपालिका क्षेत्रभित्रका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी तथा गाउँपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूको सक्रिय सहभागितामा तालिम सम्पन्न भएको हो।  तालिममा ३० जना सहभागि थिए ।

तालिममा सहभागीहरूले योगको सैद्धान्तिक पक्षका साथै दैनिक जीवनशैलीमा अभ्यास गर्न सकिने विभिन्न आसन, प्राणायाम, ध्यान विधि तथा योगको मनोवैज्ञानिक र चिकित्सकीय महत्वसमेत सिकेका थिए। गाउँपालिकाले यस तालिमलाई समुदायमै योग संस्कृति विस्तार गर्ने दीर्घकालीन योजना अन्तर्गत सञ्चालन गरेको जनाएको छ। योग शिक्षा मार्फत मानिसको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वासका साथ तालिम सञ्चालन गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ। योगमार्फत मानसिक तनाव कम गर्न, जीवनशैलीमा अनुशासन ल्याउन, स्वास्थ्य सुदृढ गर्न र समुदायमा आत्मिक सद्भाव बढाउन सकिने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो।

तालिम अवधिभर प्रशिक्षकहरूले योग दर्शन, योगको इतिहास, योग र आयुर्वेदको सम्बन्ध तथा योग शिक्षकका जिम्मेवारीहरूबारे समेत प्रशिक्षण दिएका थिए। सहभागीहरूले दैनिक अभ्याससहित विविध आसन, प्राणायाम विधि तथा सामूहिक ध्यान अभ्यास गरेका थिए। उनीहरूले आगामी दिनमा आफ्ना समुदायमा योग शिक्षा फैलाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

तालिमको समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले योग केवल व्यायाम मात्र नभइ जीवनशैली भएकाे बताउनुभयाे ।  ‘ मीले गाउँपालिका स्तरमै योग संस्कृतिलाई संस्थागत गरेर स्वास्थ्य, अनुशासन र चेतनाको विकास गर्न चाहेका हौँ’, उहाँले भन्नुभयाे ।

नेपाल योग इन्स्टिच्युट एण्ड रिट्रिटका प्रशिक्षकहरूले यस्तो तालिम ग्रामीण क्षेत्रमा प्रभावकारी हुने र स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रमा समेत प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने बताउनुभयाे। प्रशिक्षकले नियमित योग अभ्यासले उच्च रक्तचाप, मधुमेह, मोटोपन, तनावजन्य मानसिक समस्या र नीन्द्रा सम्बन्धी गडबडीहरूमा उल्लेखनीय सुधार ल्याउन सकिने बताउनुभयाे ।

तालिमका सहभागीहरूले तालिम निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्।  सहाभागिले धेरै जीवनपयाेगी ज्ञान सिकेकाे बताउनुभयाे ।

गाउँपालिकाले आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ भने भविष्यमा ‘ट्रेन अफ ट्रेनर’ कार्यक्रम समेत सञ्चालन गर्ने तयारी गरिएको छ। यस किसिमको कार्यक्रमले गाउँपालिकाभित्रै योग शिक्षकको आवश्यकता पूरा गर्ने र स्वास्थ्य र शिक्षाको क्षेत्रमा सशक्त आधार तयार पार्ने विश्वास गरिएको छ।