जनता टाइम्स

२९ असार २०८२, आईतवार ०९:२०

नेपाली भाषा, साहित्य तथा संस्कृति संरक्षण र संवर्द्धनमा भानुभक्तको उल्लेख्य योगदान : दीपकप्रसाद देवकोटा


हेटौँडा, २९ असार । २१२ औँ भानु जयन्तीका अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सम्पूर्ण नेपाली भाषी समुदायलाई शुभकामना दिनु भएको छ।

उहाँले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासमा पुर्‍याउनु भएको ऐतिहासिक योगदान स्मरण गर्दै राष्ट्रिय चेतना र साहित्यिक अनुशासनको महत्त्व औँल्याउनु भएको छ।

तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ सालको असार २९ गते जन्मिनु भएका भानुभक्तले संस्कृत भाषामा रचित वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरी गाउँ-गाउँसम्म पुर्‍याउनु भएको योगदानका कारण ‘आदिकवि’को सम्मान पाउनुभएको हो। प्रदेश प्रमुख देवकोटाले भानुभक्तले नेपाली भाषालाई साहित्यिक धरातलमा स्थापित गरी जनजिब्रोमा मिसाउनु भएको योगदानप्रति गर्व महसुस गर्नुपर्ने बताउनु भएको छ।

उहाँका अनुसार भानुभक्तको काव्यशीलै सरल, सुबोध र मिठासपूर्ण मात्र नभएर सांस्कृतिक चेतनाको संवाहक पनि हो। ‘हाम्रा गाउँघरहरू रामायणका श्लोक वाचनले गुञ्जायमान हुन्थे,’ शुभकामना सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ, ‘प्रायः सबैजसोका लागि रामायण कर्णप्रिय ग्रन्थ थियो र आज पनि छ’, उहाँले दिनु भएको सन्देशमा उल्लेख छ ।

प्रदेश प्रमुख देवकोटाले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा भानुभक्तको योगदानबाट पाइने उल्लेख गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, ‘भानुभक्तले देखाएको साहित्यिक मार्गले हामीलाई आफ्नो पहिचानको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा दिएको छ,उहाँको काव्यमा रहेको सरलता र राष्ट्रिय आत्मसम्मान आज पनि उत्तिकै सान्दर्भिक छ।’

भानुभक्तको जीवनसँग जोडिएको चर्चित प्रसङ्ग-घाँसीको प्रेरणाले उहाँलाई लोककल्याणकारी साहित्य सिर्जनातर्फ मोडेको उल्लेख गर्दै प्रदेश प्रमुखले लेख्नुभएको छ, ‘उहाँको घाँसीसँगको जम्काभेट जीवनको खुसी र सत्मार्गको प्रेरक प्रसङ्गसँग जोडिएको छ।’

भानु जयन्तीको अवसरमा प्रदेश प्रमुख देवकोटाले नेपाली भाषा र साहित्यप्रतिको माया अझ प्रगाढ बनाउन र अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यलाई उजागर गर्न सबैलाई आह्वान गर्नुभएको छ। उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ, ‘आजको दिनले हामी सबैमा एकताको भावना थप प्रगाढ बनाई, नयाँ पुस्तामा साहित्यिक चेतना भरेर सिर्जनाशीलताको नयाँ युगको प्रारम्भ गराओस् भन्ने मेरो हार्दिक कामना छ।’