जनता टाइम्स

२९ असार २०८२, आईतवार १०:४०

छाउगोठमा सुतेकी युवतीको सर्पले टोकेर मृत्यु


कञ्चनपुर, २९ असार । कञ्चनपुरमा छाउपडी गोठमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउ गोठमा सुतेकी २८ वर्षीया कमला दमाईको गएराति सर्पदंशबाट मृत्यु भएको हो । राति करिब ८ बजेको समयमा करेत जातको विषालु सर्पले डसेपछि कमलालाई उपचारका लागि कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा कमलाको मृत्यु भएको हो ।

स्थानीय सुचित्र सिंहकाअनुसार कमला छिमेकीको घरछेउको छाउगोठमा सुत्न गएकी थिइन् । उनी दुई महिनाअघि मात्रै भारतबाट घर फर्किएकी थिइन् ।

परिवारको पक्की घर भए पनि अन्धविश्वास र गलत सामाजिक परम्पराका कारण छाउ गोठमा बस्न बाध्य भएको बताइएको छ ।