काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।
आज (असार २९) आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइँदैछ। यस अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबुकमार्फत सन्देश दिँदै भानुभक्तप्रति नमन गर्दै सबै स्रष्टाहरूलाई शुभकामना व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती, आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानु भयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नु भयो, नेपाली भाषामा आदिलेखन थालनी गर्नु भएकाे भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना ।’
प्रधानमन्त्रीको सन्देशमा भानुभक्त आचार्यको योगदानलाई स्मरण गर्दै उहाँले नेपाली भाषा, साहित्य र राष्ट्रिय भावनामा भानुभक्तको ऐतिहासिक भूमिकाको चर्चा गर्नुभएको छ। विशेषगरी नेपाली भाषामा रामायण अनुवाद गरेर आम जनमानसमा साहित्यको पहुँच बनाएको भानुभक्तको योगदान प्रधानमन्त्रीले स्मरण गर्नुभएकाे छ।
भानुभक्त आचार्यलाई नेपाली साहित्यको आदिकवि मानिन्छ। उहाँले संस्कृतबाट नेपालीमा रामायण अनुवाद गरी नेपाली भाषामा जनसाहित्यको श्रीगणेश गर्नु भएको मानिन्छ। उहाँको लेखनले नेपाली भाषाको रूप, शैली र भावनात्मक गहिराइलाई नयाँ उचाइ दिएको थियो।
प्रधानमन्त्री ओलीले स्रष्टाहरूप्रति शुभकामना व्यक्त गर्दै नेपाली भाषा र साहित्यको संरक्षण तथा सम्वर्द्धनमा लाग्न प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरेर आज भानुजयन्ती मनाइँदैछ। शैक्षिक संस्था, साहित्यिक संघसंस्था तथा स्थानीय तहहरूले भानुभक्तको योगदानलाई सम्झिँदै विविध कार्यक्रमहरू गर्दैछन्।













प्रतिक्रिया दिनुहोस्