काठमाडौं, २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता नवराज सुवेदीले पार्टीको अनुशासन आयोगबाट आफूलाई हटाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता गर्नुभएको छ।
निर्वाचन आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सुवेदीले आफूले राप्रपा नछाडेको बताउनुभएको छ । आफूलाई न सोधीकन, जानकारी नदिई, अन्यायपूर्ण ढङ्गले निर्णय गरेर पार्टीको अनुशासन आयोगबाट हटाएको भन्दै उहाँले उजुरी दिनुभएको हो । ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि निर्णय लिनु अगाडि मलाई सोध्नुपर्थ्यो, सोधिएको छैन, चिठी लेखेर दिइएको पनि छैन, मैले त मिडियाबाट थाहा पाएँ, मलाई निकाल्नुभयो रे, अर्को मान्छे राख्नुभयो रे भनेर’, उहाँले भन्नुभयो ।
सुवेदीले उक्त कारबाही पार्टीको केन्द्रीय समितिबाट निर्णय नभई अध्यक्षको ‘स्वेच्छाचारिताका आधारमा’ गरिएको आरोप लगाउनुभयो। उहाँका अनुसार, राप्रपाभित्र आन्तरिक लोकतन्त्रको मर्म मिचिँदै व्यक्तिगत आकाङ्क्षाका आधारमा निर्णयहरू भइरहेका छन्।
राप्रपाको अनुशासन आयोगबाट नवराज सुवेदी हटाइएको विषय पछिल्लो केही दिनयता पार्टीभित्र विवादको विषय बनेको छ। हालसम्म राप्रपाले औपचारिक रूपमा सुवेदीको उजुरीबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन। तर पार्टीभित्र नेतृत्व र संरचनागत विषयमा असहमति चुलिँदै गएको देखिन्छ।
सुवेदीले निर्वाचन आयोगमार्फत न्याय खोज्ने प्रक्रिया अगाडि बढाएको भन्दै आफू दलभित्र अनुशासन चाहने र निष्पक्षतासहितको कार्यशैलीको पक्षमा रहेको स्पष्ट पार्नुभयो।













प्रतिक्रिया दिनुहोस्