जनता टाइम्स

३१ असार २०८२, मंगलवार २१:३४

पार्टी भित्र विभाजन होइन बहस गरौँ, नेता होइन नीति बनाऊँ


-भक्तकुमारी लामा –

नेकपा एमाले यति बेला एक निर्णायक मोडमा उभिएको छ। एकातिर पार्टी संस्थागत रूपमा विधान महाधिवेशनतर्फ अघि बढ्दै छ भने अर्कातिर पार्टीभित्रको आन्तरिक सन्तुलन, नेतृत्वप्रतिको दृष्टिकोण र अनुशासनका सवालहरू बहसको केन्द्र बनेका छन्।

यो बेला, हरेक जिम्मेवार नेता तथा कार्यकर्ताको पहिलो कर्तव्य भनेको पार्टीको पक्षमा उभिनु, बहसमा सहभागी हुनु र पार्टीलाई अझ सुदृढ बनाउने कार्यमा समर्पित हुनु हो। किनभने एमाले अहिले मात्र चौतर्फी घेरामा परेको छैन, यो घेराबन्दी विगतका राजनीतिक परिवर्तनहरूपछि उत्पन्न शक्तिको संघर्षको निरन्तरता पनि हो। आफ्नो पार्टी घेरामा रहेको बेला हरेक नेता कार्यकर्ताको पहिलो कर्तव्य शिरमा कफन बाँधेर  पार्टीको रक्षा गर्नु हो ।

विधान महाधिवेशन : अवसर कि चुनौती ?

पार्टीले घोषणा गरेको विधान महाधिवेशन अब टाढा छैन। यो महाधिवेशनले केवल नियमहरू संशोधन गर्ने प्रक्रिया मात्र होइन, पार्टीको भावी अनुशासन, संरचना र कार्यदिशा निर्धारण गर्ने ऐतिहासिक अवसर पनि हो। के हामी त्यो अवसरलाई गम्भीरतापूर्वक लिइरहेका छौँ? के हामी यसलाई आन्तरिक समीक्षा, आत्मालोचना र संगठनात्मक पुनर्गठनको यथोचित प्लेटफर्मको रूपमा उपयोग गरिरहेका छौँ?

पार्टीको विधान भन्नाले त्यो एक लिखित दस्ताबेज मात्र होइन, त्यो हाम्रो सामूहिक बौद्धिक प्रतिबद्धता र संस्थागत दृष्टिकोणको अभिव्यक्ति हो। त्यसैले अहिलेको बहस केवल के कस्ता धाराहरू जोड्ने वा काट्ने भन्ने होइन, यसको गहिरो अर्थ नेतृत्व उत्पादन गर्ने प्रक्रियामा नयाँ दृष्टिकोण विकास गर्नु पनि हो। विधानमा के लेख्ने भन्ने छलफल गर्नु भनेको हामी पार्टीलाई कुन मोडेलमा लैजाँदै छौँ भन्ने स्पष्ट दृष्टिकोण तय गर्नु हो।

नेतृत्वप्रतिको नजर : भावना कि जिम्मेवारी ?

पार्टीभित्र नेतृत्व छनोटको अभ्यासलाई हेर्दा कहिलेकाहीँ हामी भावनामा बहन्छौँ। कोही एउटै व्यक्तिलाई देवत्वकरण गर्छौँ भने कोही एकैचोटि खलनायक बनाउँछौँ। यथार्थमा नेताहरू पनि मानिस हुन् । उनीहरू पनि गल्ती गर्छन्, सिक्छन् र सुध्रन्छन्। तर हामीले विगतमा अनेकौँ पटक देखेका छौँ, नेताहरूले अन्तिम घडीमा कित्ता फेरेका छन् । आफैँले बनाएको टिमविरुद्ध उम्मेदवार बनेका छन्। भाषणमा एउटाको पक्ष लिने तर उम्मेदवारी अर्काकै पक्षबाट दिने यस्ता इतिहासहरू हाम्रो आँखाअगाडि ताजा छन्।

यस्ता व्यवहारले व्यक्तिगत महत्त्वाकाङ्क्षालाई संस्थागत निर्णयमाथि राख्ने खतरनाक प्रवृत्तिको सङ्केत दिन्छ। यस कारण हामीले नेतृत्व छनोटमा भावना होइन, विवेक र संगठनात्मक हितलाई आधार बनाउनु आवश्यक छ। विचारहरूमा असहमति हुन सक्छ, तर त्यसले पार्टी सुदृढीकरणको साझा यात्रामा बाधा बन्नु हुँदैन।

सामाजिक सञ्जालको भूमिका : सशक्त संवाद कि भाँडभैलो ?

हालैका दिनमा पार्टीभित्रको बहस सामाजिक सञ्जालमा झन् बढी देखिन थालेको छ। यो सञ्जाल सकारात्मक संवाद र विचार आदान–प्रदानको सशक्त माध्यम हो। तर, यदि हामी यसलाई व्यक्तिगत आक्षेप, गाली–गलौच र कित्ता बन्दीको अखडाजस्तो प्रयोग गर्छौँ भने यसले हाम्रो पार्टीको अनुशासन र विश्वसनीयतालाई कमजोर पार्दछ।

पार्टीभित्र स्वस्थ बहस हुनु स्वाभाविक हो। तर त्यो बहस सांगठनिक संयन्त्रमार्फत हुनु आवश्यक छ। सार्वजनिक रूपमा नेताहरूबिचको अनावश्यक कटाक्ष र आरोप–प्रत्यारोपले हाम्रो आन्तरिक ऐक्यबद्धता भत्काउँछ र बाह्य शक्तिहरूलाई पार्टीमाथि खेल्ने अवसर दिन्छ।

कमिटी प्रणाली र नीति–कार्यदिशाको पुनरावलोकन

हामीले विधान महाधिवेशनमार्फत पुनः बहस गर्नै पर्ने विषय हो–कमिटी प्रणाली कस्तो बनाउने? कार्यकर्तालाई कसरी भूमिकामूलक बनाउने? निर्णय प्रक्रियालाई कसरी समावेशी र प्रभावकारी बनाउने? तथा नेतृत्व कसरी जबाफदेही बनाउने?

आज पनि हाम्रो कार्यसम्पादन प्रणाली पदमा भरिएको छ। पद नभएका कार्यकर्ता ओझेलमा पर्ने प्रवृत्तिले संगठनभित्र गहिरो असन्तुष्टि र निष्क्रियता फैलाउने खतरा रहेको छ। यदि विधानमार्फत हामीले सबै कार्यकर्ताको भूमिकालाई सुनिश्चित गर्ने ग्यारेन्टी गर्न सकेनौँ भने भावी दिनमा संगठन बलियो होइन, झन् विसर्जनको दिशातर्फ जान सक्छ।

दस्ताबेजमा जनताको भावना कसरी समेट्ने ?

हाम्रो पार्टीको अस्तित्व र औचित्य श्रमिक, किसान, युवा, मध्यम वर्ग, शिक्षित–बौद्धिक तप्कासँग गाँसिएको हुनुपर्छ। त्यसैले हामीले बनाउने नीति, दस्ताबेज र घोषणापत्रहरूमा उनीहरूको मुद्दा प्रष्ट रूपमा उठ्नुपर्छ। श्रमजीवी जनताका प्रश्न, शिक्षाको पहुँच, स्वास्थ्य, रोजगार, संघीयताको कार्यान्वयन, सामाजिक न्याय र लैङ्गिक समानता जस्ता विषयमा स्पष्ट दृष्टिकोण र कार्यक्रम प्रस्तुत नगरी हामी जनतासँग जोडिन सक्दैनौँ ।

के हामी यस्ता विषयमा पर्याप्त बहस गर्दै छौँ? के विधान महाधिवेशनमा यी विषयलाई प्राथमिकताका रूपमा उठाउने तयारी छ? यदि छैन भने हाम्रो दस्ताबेज जनताका लागि होइन, केवल कागजी कार्यतालिका बन्नेछ।

गुटभन्दा माथि उठ्ने घडी

नेताहरूको व्यक्तिगत आकर्षण वा गुटगत स्वार्थभन्दा माथि उठेर हामीले पार्टी निर्माणमा योगदान गर्नुपर्छ। अहिले जुनसुकै कित्तामा उभिएको भए पनि, हामी एउटै परिवार हौँ भन्ने भावनाको खाँचो छ। कार्यकर्ता नेतासँग टाढा हुन थालेको अनुभूति अनेक तहमा देखिन्छ। नेताहरूको दूरी, कार्यकर्ताहरूको मनोबलमा प्रभाव पारिरहेको छ।

हामीले पार्टीभित्र यस्ता संवाद र सहकार्यको संस्कृति विकास गर्नुपर्छ, जसले गर्दा हिजो अलग–अलग कित्तामा उभिएका व्यक्ति पनि आज सँगसँगै उभिन सकुन्। झगडापछि मिलनको मिठास बेग्लै हुन्छ। आपसी मतभेदपछि आँसु साट्ने र गलल हाँस्ने क्षणहरू संगठनलाई पुनः जीवन्त बनाउने खालका हुन्छन्। त्यसको सुरुआत यही विधान महाधिवेशनबाट हुनुपर्छ।

नयाँ पुस्तालाई अवसर

पार्टीभित्र नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ भन्ने आवाज उठ्दै आएको छ। तर त्यो पुस्ता केवल उमेरमा युवा भएर मात्र होइन, दृष्टिकोण, आचरण, राजनीतिक प्रतिबद्धता र व्यवहारमा पनि नयाँ हुनु आवश्यक छ। नयाँ नेतृत्वले पुराना त्रुटिबाट सिक्नुपर्छ, अहङ्कार होइन, सेवा भाव बोकेर आउनुपर्छ।

महाधिवेशन नेतृत्व हस्तान्तरणको अवसर पनि हो। तर त्यसका लागि योग्यता, भूमिकामूलक योगदान र विचारगत स्पष्टता हेर्नुपर्छ। केवल नारामा ‘युवा चाहियो’ भन्दै नेतृत्व बदल्दा मात्र संगठन सुदृढ हुँदैन।

निष्कर्ष : बहस गरौँ, विभाजन होइन

विधान महाधिवेशन गहिरो बहस गर्ने एक अवसर हो । यो हालसम्मको कामको समीक्षा गर्ने, सुधारको बाटो पहिल्याउने महत्त्वपूर्ण अवसर हो । हामीले त्यसलाई मनोगत आरोप–प्रत्यारोपको अखडामा रूपान्तरण गर्न नदिनु पर्छ। पार्टी भित्र विचारको स्वस्थ बहस चल्ने तर अनुशासन कायम रहने संस्कारको विकास गर्नुपर्छ।

हामी कुन नेता, कुन धारमा उभिन्छौँ भन्नेभन्दा पहिले हामी एमालेका कार्यकर्ता हौँ भन्ने बोध र पहिचानलाई अगाडि ल्याउनु जरुरी छ। कमिटी बनाउने, रणनीति तय गर्ने, नेतृत्व छान्ने यी सबै प्रक्रियामा पारदर्शिता, जबाफदेहिता र सामूहिक जिम्मेवारीको अभ्यास गर्नुपर्छ।

नेताहरूको अनुहारभन्दा माथि उठेर संगठनको अनुहार बनाउने हो भने आजको यो घडीमा हामीले साँच्चै पार्टी सुदृढीकरणको अवसर पाएका छौँ।

हामी एक अर्कासँग तिक्तता होइन, तटस्थताभित्र मित्रता निर्माण गरौँ। जताततै आँखाले आँखा नजोड्ने तिक्तता हटाएर, छाती फुकाएर हाँस्ने, कहिलेकाहीँ आँसु झारेर भए पनि विश्वास र संगठन निर्माणको बाटो समाऔँ । नेकपा एमाले सुदृढ बनोस्, जनताको भरोसा पुनः प्राप्त गरौँ।