जनता टाइम्स

३१ असार २०८२, मंगलवार २१:५२

मानव अधिकार एलाइन्सकाे स्थापना दिवसको अवसरमा स्नेह केन्द्रमा खाद्यान्न सहयोग


दोलखा, ३१ असार । मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स), जिल्ला समिति दोलखाले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा दोलखाको चरिकोटस्थित आवाज नेपालद्वारा सञ्चालित स्नेह केन्द्रलाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

स्थापनाको अवसर पारेर आयोजित कार्यक्रममा चामल, दाल, चिउरा, तेल, साबुन, चिनी र बिस्कुटलगायतका खाद्य तथा उपयोगी सामग्रीहरू वितरण गरिएको हो। स्नेह केन्द्रमा विभिन्न कारणले जोखिममा परेका महिला र बालबालिकाहरूलाई संरक्षण दिइँदै आएको छ।

कार्यक्रम मञ्चका जिल्ला अध्यक्ष देवराम बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्कीले स्नेह केन्द्रमा हाल ३३ जना महिला तथा बालबालिकाहरू संरक्षित रहेको जानकारी दिनुभयाे। उहाँले स‌ंस्थाकाे  सबैको व्यवस्थापन सरकारी, गैरसरकारी संघसंस्था, सहकारी र व्यक्तिगत सहयोगमा निर्भर रहेको बताउनुभयाे ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य एवं वग्मती प्रदेश इञ्चार्ज रत्न कँडेल, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, नेकपा एमाले दोलखा जिल्ला कमिटीका सहसचिव हरि ओलीले मन्तव्य राख्दै यस्तो मानवीय सहयोगले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँहरूले संकटमा परेका नागरिकलाई साथ दिनु राज्य र समाजको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नागरिक समाजको अग्रसरता सराहनीय भएको बताउनुभयाे ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय सदस्य देवी बसेल, नेकपा एमाले भीमेश्वर नगर कमिटी अध्यक्ष भोला खतिवडा, नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, मानव अधिकार एलाइन्स वाग्मती प्रदेश कमिटी सदस्य थिरबहादुर थापा मगर लगायतको उपस्थिति रहेको थियो।

स्थापना दिवसमा गरिएको यो सहयोग कार्यक्रमले मानव अधिकारको रक्षा र सामाजिक न्यायको क्षेत्रमा क्रियाशील संस्थाहरूको प्रभावकारी भूमिकालाई थप सबल बनाएको सहभागीहरूले बताएका छन्।