जनता टाइम्स

१ श्रावण २०८२, बिहीबार ०७:४८

सबै विश्वविद्यालयका नयाँ आर्थिक वर्षको बजेट पारित, काम समयमै सुरु हुने प्रधानमन्त्री ओलीको विश्वास


काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका सबै विश्वविद्यालयले नयाँ आर्थिक वर्ष सुरु हुनुअघि नै आगामी वर्षका लागि बजेट र कार्यक्रम पारित गरिसकेको बताउनु भएको छ।

पछिल्लो एक हप्तामा आफूले अधिकांश समय विश्वविद्यालयका सिनेट बैठकहरूमा बिताएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसपटक समयमै बजेट स्वीकृति भएकाले विश्वविद्यालय सञ्चालन थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभएको छ । ‘यसपटक विश्वविद्यालयहरूलाई थितिमा चलाउने उद्देश्यका साथ आर्थिक वर्ष सुरु हुनु अगावै सिनेटमार्फत बजेट पारित गर्ने काम सम्पन्न भयो विगतमा पहिले खर्च गर्ने र आर्थिक वर्ष सकिन लाग्दा बल्ल खर्च अनुमोदन गर्ने विकृति थियो, त्यो अब दोहोरिने छैन’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ ।

उहाँका अनुसार सबै विश्वविद्यालयहरूले नयाँ आर्थिक वर्ष साउन १ बाट कार्यान्वयनमा ल्याउने गरी बजेट तथा कार्यक्रम पारित गरिसकेका छन्। समयमै बजेट स्वीकृत गरिनु सकारात्मक उपलब्धि भएको भन्दै उहाँले विश्वविद्यालयहरूले तोकिएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री ओलीले हालैका दिनमा विश्वविद्यालयहरूको बजेट, नीति तथा कार्यक्रम पारित गर्न विभिन्न सिनेट बैठकहरूमा सहभागिता जनाउनु भएको थियो।  शिक्षा क्षेत्रमा देखिएको अनियमितता, ढिलासुस्ती र योजना कार्यान्वयनमा कमजोरी हटाउन समयमै बजेट र कार्यक्रम पास हुनु महत्त्वपूर्ण मानिएको छ। सरकारको नीति विश्वविद्यालयलाई अनुसन्धान–केन्द्रित, दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाका रूपमा रूपान्तरण गर्ने रहेकाले कार्यान्वयन पक्षमा पनि स्पष्ट निर्देशन दिइएको छ। विश्वविद्यालयहरुले बजेट बैठक सम्पन्न गरी साउन १ देखि लागू हुने गरी नीति तथा कार्यक्रम स्वीकृत गरेका छन्।

प्रधानमन्त्री ओलीले सरकारको पहिलो वर्ष पूरा हुँदा शिक्षा क्षेत्रमा देखिएको सक्रियता र सुधारलाई उपलब्धिका रूपमा चित्रण गर्दै विश्वविद्यालयहरूलाई जबाफदेही र कार्यसक्षम बनाउन आफू कटिबद्ध रहेको सन्देश दिनुभएको छ।