रामेछाप, १ साउन । रामेछापको ऐतिहासिक शक्ति पीठ खाँडादेवी मन्दिरमा भक्तजनले चढाएको भेटीलाई पारदर्शी र व्यवस्थित बनाउन भेटी सङ्कलन गरी सामूहिक रूपमा गन्ने व्यवस्था सुरु गरिएको छ ।
मन्दिरमा दर्शन गर्न आउनेले चढाएको भेटी सबै सङ्कलन गरेर भेटी बक्समा राखी हरेक महिनाको मसान्तमा गन्ने गरिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

महिना भरी देवीको दर्शन गर्दा चढाएको भेटी, बलि पूजा गर्दा रसिद काटेर उठाएको रकम सबै जम्मा गरी कोषका पदाधिकारी, पुजारी तथा प्रहरी समेतको उपस्थितिमा भेटीको रकम गनेर हिसाब राख्ने गरिएको तामाङले जानकारी दिनुभयो ।
मसान्तमा सबै रकम सङ्कलन गरेर गनेपछि पुजारी, सरसफाइ तथा बगैँचा गोडमेल गर्ने कर्मचारी, व्यवस्थापन खर्च लगायतका सबै खर्च कटाएर बाँकी बसेको रकम कोषको खातामा जम्मा गरिने उहाँले बताउनुभयो । यसरी जम्मा भएको रकमबाट कोषले मन्दिरमा आवश्यक संरचना निर्माण, मर्मत सम्भार तथा विभिन्न सामाजिक काम गर्दै आएको छ ।

खाँडादेवीलाई रामेछापको ऐतिहासिक धार्मिक शक्ति पीठ मानिन्छ । २०७० सालमा खाँडादेवी विकास कोष स्थापना भएपछि मन्दिर व्यवस्थापनको सबै काम सो कोषले गर्दै आएको छ ।
यस मन्दिरको चर्चा देवी भागवत महापुराण र शिवपुराणको हिमवत् खण्डमा पनि गरिएको छ ।
मन्दिर विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला दरबारले चढाएको सुन र चाँदीको जन्तरले यसको ऐतिहासिकतालाई पुष्टि गर्दछ ।

नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई कुखुराको पोथी बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ । अहिले खाँडादेवी विकास कोषले बडादशैँ र चैतेदशैँमा कोषको तर्फबाट यो पूजा गर्दै आएको छ ।

खाँडादेवी मन्दिर हिन्दु र बौद्ध धर्मावलम्बिहरुको आस्थाको केन्द्र बनेको छ । दुवै धर्म मान्ने मानिसहरू यहाँ दर्शन र पूजा गर्न आउने गर्दछन् । अझ यो मन्दिरका पुजारी नै तामाङहरू भएकाले पनि यसले धार्मिक, जातीय र सामाजिक सहिष्णुतालाई थप बलियो बनाएको छ ।

खाँडादेवीकाे दर्शन गर्न स्वदेशी मात्र हाेइन विदेशी दर्शनार्थीहरु समेत आउने गरेका छन् । यहाँ मागेकाे कुरा पुरा हुने विश्वासका साथ दर्शनार्थीहरु आउने गर्दछन् ।













प्रतिक्रिया दिनुहोस्