रामेछाप, २ साउन । विकास निर्माणको काम अलपत्र पारी कार्यालयमा ढोका थुनेर बस्ने पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्रप्रसाद पुन मगरलाई कारबाही गर्नुपर्ने माग रामेछापवासीले गरेका छन् ।
कार्यालय समयमा सरकारले तोकेको कर्मचारीको पोसाक समेत नलाई ढोका थुनेर बस्ने र सेवाग्राही प्रति रुखो व्यवहार गर्ने तर जिम्मेवारीको पूर्वाधार निर्माणका काममा ध्यान नदिने पुनको व्यवहारको कारण स्थानीय आक्रोशित भएका हुन् । सो कार्यालय मार्फत रामेछाप जिल्लामा सञ्चालनमा रहेका योजनाहरू लामो समयदेखि अलपत्र अवस्थामा छन् । जसले गर्दा स्थानीयले सास्ती भोग्नु परेको छ भने राज्यको रकम दुरुपयोग भइरहेको छ ।
सो कार्यालय मार्फत सञ्चालनमा रहेका ठुला आयोजनाहरू पकरबास–गोगनपानी–गाल्पा सडक, गोगनपानी–गागल सडक, खिम्ती–रस्नालु ठोसे सडक लगायतका थुप्रे सडक आयोजनाहरू तथा विभिन्न स्थानका पक्की पुलहरू अलपत्र अवस्थामा छन् । निर्माण व्यवसायीसँग सम्झौता भएको म्याद सकिँदा पनि काम लगाउने भन्दा पनि कार्यालयले म्याद थप गर्दै बसेको छ । स्थानीयले वर्षामा हिलो र हिउँदमा धुलोको हैरान खेपिरहेका छन् ।
तोकिएको समयमा सडकको काम सम्पन्न नभएको तर पटक पटक म्याद थप गर्दा पनि काम नभएको भन्दै खाँडादेवी गाउँपालिकाका स्थानीयले यस अघि पनि सो कार्यालयमा ताला लगाएका थिए । स्थानीयले ताला लगाएपछि ६ महिना अघि नै सडक सम्पन्न गर्ने सहमति भएको ती सडक अहिले पनि अलपत्र अवस्थामा छन् ।
सो कार्यालयले गोकुलगंगाको बाटो ग्राभेल गराउँछु भनेर ढाँटेको दुई वर्ष भएको र अहिले रस्नालुको माथ्लो बाटो यातायात साधन नै नचल्ने अवस्थामा पुगेको गोकुलगंगा गाउँपालिकाका पूर्वाअध्यक्ष खड्ग सुनुवार बताउनुहुन्छ ।
विकास निर्माणको काममा ध्यान नदिने, कार्यालय समयमा सरकारी पोसाक समेत नलगाउने, सेवाग्राहीलाई रुखो व्यवहार गर्ने अराजक कर्मचारीलाई यथाशीघ्र कारबाही हुनु पर्ने माग नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीको रहेको छ । कार्कीले यसमा प्रमुख जिल्ला अधिकारको ध्यानाकर्षण गराउनुभएको छ । ‘कार्यालय समयमा कार्यालय प्रमुखले ड्रेस कोड नमान्नु मर्यादा विपरीत हो, अरू कुरा खुल्दै जाला’, कार्कीको प्रतिक्रिया छ ।
यस्ता कार्यालय प्रमुखलाई प्रशासनले निगरानीमा राखी कारबाहीको दायरामा ल्याउनु पर्ने माग नेकपा माओवादी केन्द्रका नेता हेमन्त पौडेल निकासको रहेको छ । अन्यथा जनता चुप लागेर नबस्ने उहाँले भनाइ छ ।
नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष हिमाल ढुङ्गेलले कार्यालय प्रमुख पुन अत्यन्त गैरजिम्मेवार कार्यालय प्रमुख भएको प्रतिक्रिया जनाउनुभएको छ ।
आफू काम नगर्ने तर काम भएन भन्ने कुरा उठाउनेलाई नै मुद्दा लगाउँछु भन्दै कार्यालय प्रमुख पुन हिँड्ने गरेको पत्रकार नवीन घिमिरेले बताउनुहुन्छ । ‘यी हाकिम साहेबले केही हप्ता अगाडि सबै पत्रकारलाई मुद्दा हाल्छु भन्दै हुनुहुन्थ्यो’, सामाजिक सञ्जाल फेसबुकमा घिमिरेले लेख्नु भएको छ ।
खाँडादेवी गाउँपालिका युवा परिषद्का कार्यकारी उपाध्यक्ष मदन खड्का पनि पुनको व्यवहार निक्कै अराजक भएको बताउनुहुन्छ । जनताको मुद्दा लिएर जाँदा आफूहरू माथि पुनले दुर्व्यवहार गरेको उहाँले बताउनुभयो ।
सामाजिक सञ्जालका केही प्रयोगकर्ताले भने पुनको विरुद्ध आवाज उठाउने पत्रकारहरूको असार मसान्तमा बार्गेनिङ नमलिको प्रतिक्रिया समेत जनाउन भ्याउनुभएको छ । ‘साँच्चिकै कार्यालयमा गलत भएकै पो हो कि, पत्रकारहरूलाई असार मसान्तमा चित्त बुझाउन नसकेको हो ?’, सामाजिक सञ्जाल फेसबुकमा रामेछाप नगरपालिकाका लालबहादुर तामाङले लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्