रामेछाप, २ साउन । जिल्ला प्रशासन कार्यालय रामेछापले आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलन, नागरिकता र राहदानी सेवा, उजुरी समाधान तथा विपद् राहत वितरणजस्ता सूचकमा उल्लेखनीय प्रगति गरेको छ।
कार्यालयले सार्वजनिक रूपमै वार्षिक कार्य विवरण प्रस्तुत गर्दै राज्यको सेवा पहुँच विस्तारमा आफ्नो सक्रियता देखाएको हो।
प्रशासनका अनुसार गत वर्ष राहदानी, संस्था दर्ता, दण्ड–जरिवाना, बेरुजु दाखिलाजस्ता विभिन्न शीर्षकबाट ३ करोड ३१ लाख ४० हजार ४ सय ४९ रुपैयाँ राजस्व सङ्कलन भएको छ। यो रकम विगत वर्षको तुलनामा बढी हो।
गत वर्ष ६ हजार ४ सय २७ नयाँ नागरिकता वितरण भएको छ भने ५ हजार ९ सय ७६ जनाले नागरिकताको प्रतिलिपि प्राप्त गरेका छन्। यस्तै, राहदानीको लागि ४ हजार ६ सय २७ आवेदन परेका थिए । त्यस्तै ४ हजार ६५५ जनालाई राहदानी वितरण गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो।
राष्ट्रिय परिचयपत्र कार्यक्रम अन्तर्गत १३ हजार ७ सय ५५ जनाको विवरण सङ्कलन भएको छ भने ७ हजार १ सय ५४ थान वितरण भएको छ। त्यस्तै २ सय ९५ जना नाबालकलाई परिचयपत्र प्रदान गरिएको छ।
प्रशासनले कानुनी विषयमा पनि उल्लेखनीय काम गरेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरेका २ वटा मुद्दासहित २५ वटा मुद्दा दर्ता भएका थिए । जसमा २३ वटा फर्छ्योट भएका छन् । ९१ ठाडो उजुरीमध्ये सबै उजुरी समाधान गरिएको छ ।
यस्तै, अख्तियार तथा अन्य नियामक निकायबाट आएका १८ उजुरीमध्ये १५ फर्छ्योट भएका छन् । ३ उजुरी समाधान प्रक्रियामा छन्। गृह मन्त्रालयबाट आएका ४ उजुरीमध्ये ३ फर्छ्योट भएका छन्। वैदेशिक रोजगारसम्बन्धी ४४ उजुरी र QR प्रणालीमार्फत आएका ६ उजुरी सबै फर्छ्योट भएका छन्।
विपद् व्यवस्थापनका सन्दर्भमा पनि रामेछाप प्रशासनले ठोस काम गरेको छ। साउनदेखि असार मसान्तसम्म विपद्को कारण ज्यान गुमाएका र प्रभावित परिवारलाई ३४ लाख ९५ हजार रुपैयाँ राहत वितरण गरिएको छ। ३ सय ८ जना पीडितको तथ्याङ्क विपद् पोटलमा प्रविष्ट गरिएको छ।
दोरम्बा शैलुङ, खाँडादेवी, सुनापति, लिखुतामाकोशी, उमाकुण्ड गाउँपालिका र रामेछाप नगरपालिकाका १ सय ५३ परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार २५ हजार रुपैयाँको दरले पहिलो किस्ताको राहत वितरण गरिएको छ ।
अविरल वर्षाका कारण असोजमा क्षति भएका वासस्थानहरू पुनर्निर्माण गर्न विभिन्न संघ–संस्थाको सहकार्यमा आर्थिक सहयोग गरिएको छ। रेडक्रस रामेछाप शाखामार्फत बहुउद्देश्यीय नगद सहायता कार्यक्रम अन्तर्गत २२४ घरपरिवारलाई प्रतिपरिवार १५ हजारका दरले ३३ लाख ६० हजार रुपैयाँ राहत वितरण गरिएको हो।
रामेछापलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएपछि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सबै पालिकालाई ५०/५० लाख रुपैयाँको दरले राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो।













प्रतिक्रिया दिनुहोस्