रामेछाप, ४ साउन । बर्खाको मध्य समयमा सडक अवरुद्ध भएर आवतजावतमा कठिनाइ भइरहेका बेला उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवार आफैँ डोजरसहित फिल्डमा खटिनु भएको छ ।
सो गाउँपालिकाभित्रका अधिकांश सडक कच्ची छन्। निरन्तर वर्षाले सडक भत्किएको, खाल्डाखुल्डी परेको र हिलो जमेको अवस्थाले सवारी साधन सञ्चालनमा समस्या भएको देखिएपछि अध्यक्ष सुनुवार गाउँ पालिकाको डोजर लिएर आफैँ सडक मर्मतमा निस्कनु भएको हो । सडक सुधारको काममा अध्यक्ष आफैँ सहभागी हुनु भएको छ। उहाँ मन्थली, काठमाडौं लगायत अन्य क्षेत्रबाट गाउँपालिका भित्रिने मुख्य सडक खण्ड तथा गाउँपालिकाको प्रमुख सडकको रूपमा रहेको मध्यमार्गी सडक मर्मतमा आफैँ खट्नु भएको छ । ती सडकहरूमा गएको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने र सवारी आवागमन सहज बनाउने कार्य भइरहेको छ।
गाउँपालिका अध्यक्ष सुनुवारले मुख्यतया मध्यमार्गी सडक तथा पालिका बाहिर जिल्ला सदरमुकाम जाने मुख्य सडकहरूमा विशेष ध्यान दिनुभएको छ। सरसफाइ तथा सामान्य मर्मतका कामलाई तत्काल सम्पन्न गराएर बर्खाका बेला आवागमन सहज बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्