जनता टाइम्स

५ श्रावण २०८२, सोमबार २०:५०

एमालेको केन्द्रीय कमिटी बैठक : पहिलाे दिन ४९ सदस्यले राखे धारणा, भाेलि पनि बैठक बस्दै 


काठमाडौं, ५ साउन । नेकपा एमाले केन्द्रीय कमिटीकाे पहिलाे दिनकाे बैठक सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकको पहिलो दिन ४९ जना केन्द्रीय सदस्यले विधान र संगठनसम्बन्धी प्रतिवेदनमाथि आ–आफ्ना धारणा राख्नु भएकाे छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत ‘विधान संशोधन प्रतिवेदन’ र महासचिव शङ्कर पोखरेलको ‘संगठनात्मक प्रस्ताव’माथि गण्डकी प्रदेश, मधेस प्रदेश, उपत्यका विशेष प्रदेश तथा सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले धारणा राख्नु भएकाे हाे ।

गौतमका अनुसार अधिकांश केन्द्रीय सदस्यहरूले पार्टी सचिवालय र पोलिटब्युरोको सर्वसम्मत निर्णयका आधारमा प्रस्तुत भएको विधान संशोधन प्रस्तावप्रति समर्थन जनाएका छन्। बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्य नवीकरणसम्बन्धी विषयसमेत प्रवेश पाएको जानकारी गौतमले दिए।

बैठकमा बोल्न प्रत्येक सदस्यलाई तीन मिनेटको समय तोकिएको थियो। प्रतिवेदनमाथिको बहसलाई दस्तावेजीकरण गर्न पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा विष्णु रिजाल र निरज आचार्य सदस्य रहेको बहस संकलन समिति गठन गरिएको छ।

एमाले केन्द्रीय कमिटीको बैठक मंगलबार बिहान ११ बजे पुनः बस्ने बताइएको छ।