जनता टाइम्स

६ श्रावण २०८२, मंगलवार १३:०५

मिसन २०८४ सफल पार्न अध्यक्षमा केपी ओलीलाई सर्वसम्मत चयन गरौँ : राजीव पहारी


काठमाडौं, ६ साउन। नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारीले ‘मिसन २०८४’ सफल बनाउन केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा पुनः सर्वसम्मत रूपमा पार्टी अध्यक्ष चयन गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले एमालेको प्रमुख लक्ष्य आगामी निर्वाचनमा पार्टीलाई बलियो, निर्णायक र राष्ट्रिय शक्ति बनाउनु रहेको उल्लेख गर्दै त्यसको नेतृत्व ओलीले गर्ने भन्नेबारे पार्टीले पहिल्यै निर्णय गरिसकेको स्मरण गराउनुभयो । ‘अबको हाम्रो मुख्य उद्देश्य मिसन २०८४ हो, त्यसलाई सफल पार्न एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा उभ्याउनु आवश्यक छ र यसको नेतृत्व आदरणीय अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ भन्ने निर्णय पार्टीले गरिसकेको छ’, उहाँले भन्नुभयो ।

एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा नेतृत्व चयनसम्बन्धी बहस सुरु भएको छ। त्यही सन्दर्भमा पहारीले आगामी महाधिवेशनमा ओलीलाई पुनः अध्यक्ष बनाउन सबै नेता–कार्यकर्तालाई आह्वान गर्नुभएको हो ।  ‘यो सङ्कल्प पूरा गर्न र सुखी नेपाली, समृद्ध नेपाल निर्माणको अभियानलाई सार्थकता दिन अबको ११ औँ महाधिवेशनमा अध्यक्ष ओलीलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष बनाऔँ’, उहाँले भन्नुयभयाे ।

पार्टीभित्र ओलीको पुनः अध्यक्षताका लागि समर्थन बढ्दै गएको छ। हालै सम्पन्न सचिवालय र पोलिटब्युरो बैठकमा अधिकांश नेताले ओलीलाई पुन: अध्यक्ष बनाउनु पर्ने प्रस्ताव राख्नु भएकाे छ । जारी केन्द्रीय कमिटी बैठकमा पनि बहुसङ्ख्यक नेताले ओलीको नेतृत्वमा पार्टी अगाडि बढाउनुपर्ने धारणा राख्नु भएकाे छ ।

एमालेले ‘मिसन २०८४’ का रूपमा आगामी संघीय निर्वाचनमा बहुमतसहितको सरकार बनाउने रणनीति अघि सारेको छ। त्यसका लागि सांगठनिक एकता, अनुशासन, र स्पष्ट नेतृत्व आवश्यक रहेको भन्दै पहारीले अध्यक्ष ओलीकै नेतृत्वलाई विकल्परहित  भएकाे बताउनुभएकाे छ ।