काठमाडाैं, ६ साउन । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ स्थित बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक भासिएको छ । च्याँडीको अक्कर भिरमा पिच गरिएको करिब ३० मिटर सडक भासिएको स्थानीयवासीले बताएका छन् ।
पिच गर्ने काम सकिए लगत्तै माथिबाट आएको पहिरो र पानीसहितको बाढीले सडकमा क्षति पुर्याएको हो । सडक भासिएपछि निर्माण कम्पनीले सो स्थानमा माटो हालेर पुरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले धसिएको सडक ढाकछोप नगरी मर्मत गरेर पुनः निर्माण गर्न माग गरेका छन् ।
सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले समस्या लुकाउन माटो हालेर अस्थायी समाधान गर्न खोजेको स्थानीयको आरोप छ । सडकमा वर्षाको समयमा निरन्तर पहिरो खस्ने सम्भावना रहेकाले सावधानीपूर्वक पूर्वाधार निर्माण हुनुपर्नेमा लापरबाही गरिएको उहाँहरूको आरोप छ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको स्वीकार गर्नु भएको छ। उहाँका अनुसार घटनास्थलमा प्राविधिक टोली पठाइसकिएको छ । ‘माथिबाट पानी आएर सडकको केही भाग धसिएको रहेछ, पानी कटाएपछि ठिक हुन्छ हाले, प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौँ’, उहाँले भन्नुभयो ।
निर्माण सम्पन्न भए लगत्तै सडक धसिनुले निर्माण गुणस्तरप्रति पनि स्थानीयले शङ्का गरेका छन्। च्याँडी पाखामा सडक पिच गर्ने काम केही समयअघि सम्पन्न गरिएको थियो । तर, निर्माण सम्पन्न भए लगत्तै सडक भासिएको घटनाले निर्माण कम्पनीको जिम्मेवारीबाेध र योजना कार्यालयको अनुगमन क्षमतामाथि प्रश्न उठाएको छ ।
घटनास्थल जोखिमयुक्त भिरालो जमिनमा पर्छ । तर, त्यस्तो स्थानमा सडक बनाउँदा पनि आवश्यक सुरक्षा संरचना नबनाइनुले यो दुर्घटना निम्तिएको स्थानीयको बुझाइ छ । उनीहरूले भासिएको स्थानमा पक्की संरचना बनाइ पुनः मर्मत गर्न माग गरेका छन् ।
सामान्य वर्षाले भासिने सडकको दिगो पनमा स्थानीयको आशङ्का छ । खालको कामलाई ‘पिच गरिएको’ भन्दै औपचारिकता मात्र पूरा गर्नु सरासर जनताको विश्वासमा धोका भएको स्थानीयको भनाइ छ । उनीहरूले योजना कार्यालय, स्थानीय सरकार र निर्माण कम्पनीका जिम्मेवार निकायलाई तुरुन्त पहल गरेर मर्मत थाल्न आग्रह गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्