जनता टाइम्स

६ श्रावण २०८२, मंगलवार २०:१६

पक्षधरताको बाजा नबजाऊँ, विवादास्पद बनाएर पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा सक्रिय बनाउनु उपयुक्त हुँदैन : माधव ढुङ्गेल


काठमाडौं, ६ साउन। नेकपा (एमाले)का केन्द्रीय सदस्य माधव ढुङ्गेलले पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकमा संगठन सुदृढीकरण, सदस्यता प्रणाली सुधार, विचारको स्पष्टता र युवा पुस्ता नेतृत्व हस्तान्तरणबारे सुझाव प्रस्तुत गर्नुभएको छ।

पार्टी सदस्यताको अनलाइन नवीकरण, शुल्क संरचना एकरूपता, लेखा प्रणाली, लेबी र अनुगमन प्रणालीलाई संस्थागत गर्दै समग्र संगठन सञ्चालनलाई ‘डिजिटल पारदर्शिता’ मा लैजानुपर्ने प्रस्ताव उहाँले गर्नुभयो।

ढुङ्गेलले पार्टीको वडादेखि प्रदेशसम्मको कार्य संरचना पुनः व्यवस्थित गर्दै केन्द्र–प्रदेश–जिल्ला संयोजन प्रणालीलाई स्पष्ट र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले जिल्ला स्तरमा ‘पार्टी स्कुल’ गठनसहित संयोजनको व्यवस्थापन गर्न समिति बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो।

यसै गरी, उहाँले ४२ जिल्लामा दुई वा तीन पुराना क्षेत्रीय कमिटीहरू मिलाएर १ सय ३० वटा संघीय निर्वाचन क्षेत्रीय कमिटी, एक मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा ७० वटा प्रदेश निर्वाचन क्षेत्रीय कमिटी बनाउन सुझाव दिनुभएको छ ।

गण्डकी, कर्णाली, सुदूरपश्चिमजस्ता तुलनात्मक रूपले कमजोर संगठन भएका प्रदेशहरूमा कार्यकर्ता सङ्ख्यालाई सुदृढ गर्न  विशेष अभियान चलाउनु पर्ने उहाँको सुझाव छ ।

पार्टी महाधिवेशन प्रतिनिधित्वमा नयाँ–पुरानो अनुपात ५०–५० बनाउने, महिला, जनजाति, थारु, दलित लगायत समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्तावसहित ढुङ्गेलले पार्टी विधान र नेतृत्वको अधिकार संरचना पनि स्पष्ट गर्नुपर्ने बताउनुभयो।

पार्टी विधानको धारा २१ अनुसार कार्यकारिणी अध्यक्ष तोकिएको अवस्था नभएसम्म पार्टी अध्यक्षकै निर्देशनमा सम्पूर्ण कमिटी, विभाग र समितिहरू सञ्चालन हुनुपर्ने प्रस्ट्याउँदै उहाँले त्यसबारे विधानमै स्पष्ट व्यवस्था गरिनुपर्ने बत्ताउनुभयो ।

पार्टीको पुरानो राष्ट्रव्यापी संगठनलाई वर्तमान युगको आवश्यकता अनुसार नयाँ मोडेलमा लैजाने, अनुशासन र सामूहिक निर्णय प्रक्रियालाई बलियो बनाउने, युवाको सिर्जनात्मक योगदानलाई संस्थागत गर्ने व्यवस्था मिलाउनु पर्ने उहाँको सुझाव छ ।

ढुङ्गेलले पार्टीभित्र आन्तरिक संवाद र छलफलको संस्कृति पुनः स्थापित गर्न र युवालाई नेतृत्वको भूमिकामा तयार पार्न नेतृत्व तहले विशेष ध्यान दिनुपर्ने विचार राख्नुभयो। ‘युवा पुस्ताको नेतृत्वविना पार्टीको दीर्घकालीन भविष्य सुनिश्चित गर्न सकिँदैन’, उहाँले भन्नुभयो, ‘पार्टीमा नयाँ ऊर्जा, कार्य पद्धति र समसामयिक रणनीति आवश्यक छ।’

पूर्व राष्ट्रपति विद्या भण्डारीको विषयमा अहिले संघर्षको मैदानबाट खारिएको, अनुभवी, काबिल, सक्षम र असीमित रूपमा सक्रिय नेतृत्व विद्यमान रहेको बताउँदै उहाँले  अहिले विधान महाधिवेशनलाई प्राथमिकतामा राख्नु पर्नेमा उहाँले जोड दिनुभयो ।  ‘फेरि पनि हामीलाई यो युग धान्ने, हामी माथिको आक्रमणको प्रतिवाद गर्न सक्ने, २०८४को मिसन पुरा गर्ने सक्षम नेतृत्व आवश्यक हुन्छ, त्यो नेतृत्व स्वयं केपी ओलीले गर्ने कि अरू कसैले गर्ने, ,नेतृत्व परिवर्तन आवश्यक छ कि छैन समय आए पछि बहस गरौँला’, उहाँले भन्नुभयो ।
पार्टी सदस्यता नवीकरणको विषयको प्रक्रिया  र प्रक्रियागत त्रुटि फरक कुरा भएको बताउँदै उहाँले पूर्व राष्ट्रपतिको सदस्यता नवीकरण एउटा सामान्य प्रक्रिया मात्र नभएको बताउनुभयो। त्यसर्थ यो पार्टी नेतृत्वको उच्च समझदारी र निर्णयको विषय हुनु उपयुक्त हुने उहाँको सुझाव छ । ‘हामीले बनाएको जम्मा एउटा राष्ट्रपति हो, धेरै राष्ट्रपति बनाएको अनुभव हामीलाई छैन, यो हाम्रो गौरवपूर्ण सम्पत्ति पनि हो, यसको साख राख्न जानिएन भने स्वयम् व्यक्ति र हाम्रो पार्टीलाई समेत यसबाट क्षति पुग्छ त्यसैले विवादास्पद बनाएर पार्टी राजनीतिमा सक्रिय बनाउनु उपयुक्त हुँदैन, यथोचित उच्च सम्मानका साथ फेरि पनि आम जनता र पार्टी पङ्क्तिले व्यवहार गर्न सक्ने अनुकूल वातावरण बनाउनु पर्दछ, हामी सबैले मौका छोपेर पक्षधरताको बाजा बजाउनु भन्दा यसका लागि योगदान गरौँ’, उहाँले भन्नुभयो ।

बैठकमा अन्य केन्द्रीय सदस्यहरूले पनि विभिन्न सुझावहरू राखेका छन्। एमालेको नवौँ केन्द्रीय कमिटी बैठक जारी छ र प्रतिवेदनमाथिको छलफल क्रमशः सम्पन्न हुँदै छ।