रामेछाप, ७ साउन । रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले राष्ट्र र जनताको नाममा सधैँ लडिरहने व्यक्ति सबैको प्यारो हुने बताउनुभएको छ ।
पुष्पलालको जन्मथलो रामेछापको भँगेरीमा नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापन तथा जिल्ला कमिटी र राष्ट्रिय जनसांस्कृति महासंघको आयोजनामा भएको ४७ औँ पुष्पलाल स्मृति दिवस कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै न्यौपानेले राष्ट्र र जनताको लागि सधैँ लडिरहेका कारण पुष्पलाल सबैको प्रिय पात्र हुनुभएको बताउनुभयो । ‘पुष्पलाल र बिपी प्रति श्रद्धाञ्जली व्यक्त गर्दा आफूलाई गर्वानुभूति हुन्छ’, उहाँले भन्नुभयो ।
पुष्पलालको जन्मथलो भँगेरीको विकासको लागि सरकारको ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो । पुष्पलाल मध्यपहाडी राजमार्ग पुष्पलालको जन्मथलो नछोई जानु दुर्भाग्य भएको उहाँले सुनाउनुभयो । ‘पुष्पलालको जन्मथलो भँगेरी नछोई जाने राजमार्ग कसरी पुष्पलाल राजमार्ग हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
उहाँले २०४६ सालको आन्दोलन कांग्रेस र कम्युनिष्ट मिलेपछि मात्र सफल भएको उहाँले बताउनुभयो । देशका ठुला ठुला परिवर्तन कांग्रेस र एमाले नमिली सम्भव नभएको बताउँदै उहाँले देश बनाउन पनि एमाले र कांग्रेस मिलेर अघि बढ्नु पर्ने धारणा राख्नु भयो ।
न्यौपानेले कम्युनिष्टहरुले पुष्पलालको आदर्श र नेपाली कांग्रेसले बिपीको आदर्श भुल्दै गएका गुनासो गर्नुभयो । यसले राजनीतिमा सङ्कट देखिएको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्