जनता टाइम्स

७ श्रावण २०८२, बुधबार २१:०९

केपी ओली समकालीन राजनीतिको शिखर व्यक्तित्व : पुरुषोत्तम कडरिया 


रामेछाप, ७ साउन । नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले केपी ओली समकालीन राजनीतिको शिखर व्यक्तित्व भएको बताउनुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार नेकपा एमाले रामेछाप नगरपालिका कमिटीको व्यवस्थापन तथा नेकपा एमाले रामेछाप र राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल वाग्मती प्रदेश कमिटीले संयुक्त रूपमा उहाँको जन्मथलो रामेछापको भँगेरीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कडरियाले एमाले केपी ओलीको नेतृत्वमा अघि बढ्ने कुरामा दृढ रहेको स्पष्ट पार्नुभयो । ‘कहिलेकाहीँ हावा हुरी चल्न सक्छ, केही मानिसले भ्रम छर्न सक्छन्, त्यसबाट केही मानिसहरू दिग्भ्रमित हुन सक्दछन्, तर त्यो धेरै समय रहँदैन, नेपालको समकालीन राजनीतिमा केपी ओली शिखर व्यक्तित्व हुनुहुन्छ, यसमा कुनै विवाद छैन’, उहाँले भन्नुभयो ।

कडरियाले अहिले एमालेमा केपी ओलीको विकल्प नभएको बताउनुभयो । एमालेको लागि मात्र होइन देशकै लागि ओलीको नेतृत्व जरुरी रहेको उहाँले बताउनुभयो ।

एमाले विधान अधिवेशनको तयारीमा रहेको बताउँदै उहाँले अब पार्टीको ध्यान नीति बनाउने कुरामा केन्द्रित हुनु पर्ने बताउनुभयो । त्यसको लगत्तै सिङ्गो पार्टीको ध्यान मिसन २०८४ मा लाग्नु पर्ने कडरियाको धारणा छ ।

पुष्पलालले स्थापना गर्नुभएको नेकपाको मूलधार नेकपा एमाले भएको बताउँदै उहाँले नेपालको कम्युनिष्ट आन्दोलनको सारथि एमाले नै भएको स्पष्ट पार्नुभयो । देशलाई सही दिशामा लैजानको लागि नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेल, पार्टी र जनसंगठनका नेताहरू लगायतका सहभागिता थियो । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघको तर्फबाट वृहत् सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका सहभागीलाई पार्टी उपाध्यक्ष होतराज ढकालले स्वगत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालकी अध्यक्ष भूमिका सुब्बा, एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल लगायतले नेपालको राजनीतिमा पुष्पलालको योगदानको चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्ने दुई जना युवा किसानलाई नगद सहित सम्मान गरिएको थियो । मन्थलीका व्यावसायिक किसान रामबहादुर साही र रामेछापका किसान उमेशविक्रम थापालाई पार्टीले सम्मान गरेको हो ।