काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनको स्वरूप र प्रभाव दुवै भयावह बनाएको बताउनुभएकाे छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक–२०८१ माथिको छलफलमा भाग लिँदै शर्माले वैधानिक र अवैधानिक दुवै माध्यमबाट तस्करी बढिरहेको बताउनुभयाे । ‘मानव तस्करी अब अवैधानिक बाटो मात्र होइन, वैधानिकरूपमै भइरहेको छ, भिजिट भिसामा खाडी मुलुक पुग्ने महिलाहरू यौन शोषणको चक्रव्यूहमा पर्नुभएको छ, जो खतरनाक छ’, उहाँले भन्नुभयाे ।
उहाँले टेक्नोलोजीको दुरुपयोगका कारण अपराधका नयाँ स्वरूपहरू देखा परेका र त्यसअनुरूप नीति तथा कानुन परिवर्तन गर्नु अपरिहार्य भएको धारणा राख्नुभयो। ‘अब प्रविधिको दुरुपयोगबाट अपराधको स्वरूप बदलिएको छ, त्यस्ता नयाँ स्वरूपका अपराधलाई कसरी नियन्त्रण गर्ने भन्नेमा यो संशोधन विधेयक निर्णायक बन्नुपर्छ’, उहाँले भन्नुभयाे ।
मानव तस्करीको प्रारम्भ गाउँबाटै सुरु हुने भन्दै उहाँले सहर पस्ने बित्तिकै युवा बेचिन थाल्ने अवस्था रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘गाउँबाट एकजना युवा सहर पस्दा नै बेचिन सुरु हुन्छ, एउटै युवा पटक–पटक बेचिन बाध्य हुन्छ, यस्तो भयावह अवस्थामा हामी छौँ ।’
मानव बेचबिखनको नियमन र पीडितको संरक्षणलाई लिएर कानुनले व्यवहारमा प्रभावकारी काम नगरेको भन्दै उहाँले कार्यान्वयनको गम्भीर प्रश्नसमेत उठाउनुभयो। शर्माले मानव बेचबिखन नियन्त्रणका लागि कानुनी व्यवस्था मात्रै होइन, राज्यको नीति, अनुसन्धान संयन्त्र र न्यायिक पहुँचलाई सुदृढ बनाउनु पर्ने बताए। ‘अपराधी प्रविधिको प्रयोग गरेर अगाडि बढेका छन्, राज्य पुरानै तरिकाबाट व्यस्त छ,’ उहाँले भन्नुभयो, ‘अब नयाँ अपराधसँग लड्न नयाँ दृष्टिकोण र उपकरण आवश्यक छ।’













प्रतिक्रिया दिनुहोस्