रामेछाप, ८ साउन । जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला सदरमुकाम आउन नसक्ने अपाङ्गता भएका नागरिकहरूलाई घरमा नै गएर नागरिकता दिन सुरु गरेको छ ।
जिल्ला सदरमुकाम आउन नसकेकै कारण कुनै पनि नागरिक नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् भनि अभियानकै रूपमा यो कार्यक्रम अघि बढाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताउनुभयो ।
सोही क्रममा कार्यालयले रामेछाप नगरपालिका–७ सुकाजोरका एक अपाङ्गता भएका नागरिकलाई घरमा नै गएर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको नेतृत्वमा गएको टोलीले टिकाबहादुर खत्रीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएको हो ।

२०६५ असार ७ गते जन्मिएका खत्री बसेको ठाउँबाट उठ्न समेत नसक्ने जन्मजात अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँलाई रुँग्न घरमा एक जना हेरालु नै चाहिने आमा उषामाया बस्नेतले बताउनुभयो । उहाँलाई प्रमुख जिल्ला अधिकारी थापाले वडाध्यक्ष समीर कार्की समेतको उपस्थितिमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो । जिल्ला सदरमुकाम जान नसकेकै कारण कोही पनि नागरिकताबाट वञ्चित हुनुहुन्न, जिल्लाका कुनै पनि ठाउँमा यस्तो समस्या भएका नागरिकहरू छन् भने हामी घर घरमा नै गएर नेपाली नागरिकताको प्रमाणपत्र दिन्छौँ’, उहाँले भन्नुभयो ।

यसै गरी कार्यालयले वडा तहमा पुगेर राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार राष्ट्रिय परिचय पत्रको अफलाइन फोटो खिच्ने र बनेर आएका राष्ट्रिय परिचयपत्रका डिजिटल कार्ड वितरणको थालिएको हो ।
राष्ट्रिय परिचयपत्रको डिजिटल कार्ड लिन सेवाग्राहीहरू जिल्ला प्रशासन कार्यालयमा नआउँदा धेरै कार्डहरू कार्यालयमा थन्किएर बसेका छन् । सबै पालिकाको वडा तहमा नै पुगेर ती कार्ड वितरण गरिने उहाँले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्