रामेछाप, साउन १० । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार प्रदेशको सुरक्षा चुनौतीसँग जुध्न प्रहरी सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ।
शुक्रबार रामेछापमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्दै मन्त्री लामिछानेले प्रदेशभरि रहेका प्रहरी कार्यालयहरूलाई व्यवस्थित गर्न प्रदेश सरकारले हालसम्म ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेर कार्यान्वयनमा लगेको जानकारी दिनुभयो। उहाँले भौतिक संरचना सुदृढीकरणले जनताप्रति उत्तरदायी प्रहरी सेवा दिन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। ‘जनताको जीउधनको सुरक्षा गर्नु प्रहरीको दायित्व हो, सेवा र सुविधाको अभिवृद्धिले प्रहरी प्रशासन अझ सशक्त र जिम्मेवार बन्छ’, उहाँले भन्नुभयो ।

उहाँले नेपालमा दिनहुँ जसो बढ्दो सवारी चाप, सडक अवस्था र लापरबाहीका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै प्रहरीले यसलाई अवसरका रूपमा लिएर सेवा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘यो चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्नु आवश्यक छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण पौडेलले प्रहरी जनशक्ति अभावसम्बन्धी अवस्था चित्रण गर्नुभयो। ‘वाग्मती प्रदेशभरि जम्मा ६ हजार प्रहरी छन्, जसमा ट्राफिक तर्फ करिब ३०० जना मात्र कार्यरत छन्’, उहाँले भन्नुभयो ।
प्रहरी जनशक्ति र पूर्वाधार अभावका कारण धेरै ठाउँमा चौकी थप र भवन निर्माणको माग बढ्दो रहेको पौडेलले बताउनुभयो। ‘हामीसँग उपलब्ध स्रोतले माग धान्न सकिरहेको छैन, अझै धेरै ठाउँमा प्रहरी चौकीका लागि आवश्यक पूर्वाधार नै छैन’, उहाँले भन्नुभयो।

भर्खरै निर्माण सम्पन्न भएको रामेछाप जिल्ला ट्राफिक प्रहरी कार्यालय भवनको लागत करिब ३ करोड ८ लाख रुपैयाँ परेको छ। भुईँ तला सहित चारतले यो भवन निर्माणको ठेक्का ब्रह्मायणी–विरुपाक्ष–बिजी जेभीले २०८० असोज ८ गते सम्झौता गरेर थालेको थियो।भवनमा प्रतीक्षालय समेत निर्माण गरिएको छ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो।













प्रतिक्रिया दिनुहोस्