जनता टाइम्स

१० श्रावण २०८२, शनिबार १०:०७

पर्यटकीय सम्भावना पहिचान र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक ः  मुख्यमन्त्री चेतनारायण आचार्य


बुटवल, साउन १० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल उपमहानगरपालिका–४ स्थित मणिमुकुन्द सेन उद्यान (फूलबारी पार्क) को स्थलगत निरीक्षण गर्नुभएको छ ।

पार्क निरीक्षण गर्दै उहाँले पर्यटकीय सम्भावना पहिचान र प्रवर्द्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। शनिबार भएको निरीक्षणमा मुख्यमन्त्री आचार्यले सरोकारवाला निकायहरूसँग छलफल गर्दै पर्यटकीय महत्त्व बोकेको फूलबारी क्षेत्रलाई थप व्यवस्थित गर्दै पर्यटकमैत्री बनाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले पछिल्लो समय वडा र टोल पिच्छे पार्क बनाउने प्रवृत्ति बढेको भन्दै भएका पार्कहरूलाई व्यवस्थित गरेर पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश सरकार भएका पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धनमा गम्भीर रहेको छ। जैविक विविधताको संरक्षणमार्फत वातावरण सन्तुलन कायम गर्दै पर्यटनलाई जनताको जीवनस्तर तथा आम्दानीसँग जोड्ने दीर्घकालीन योजनामा सरकार लागेको उहाँको भनाइ थियो। ‘हामी प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दै आन्तरिक स्रोतसाधन परिचालनमार्फत दिगो पर्यटन विकासको बाटो अवलम्बन गर्दैछौ, यी प्रयासहरूले रोजगारी सिर्जना र स्थानीय आयआर्जनमा टेवा पुर्‍याउँछन्’, उहाँले भन्नुभयो ।

फूलबारी पार्क (मणिमुकुन्द सेन उद्यान) बुटवलको पुरानो डाँडाकाँडामा फैलिएको हरियालीयुक्त क्षेत्र हो। यहाँ बाल उद्यान, चिडियाखाना, फूलबारी, विश्राम स्थलजस्ता संरचनाहरू छन्। प्राकृतिक सौन्दर्यसँगै ऐतिहासिक र सांस्कृतिक महत्त्व पनि बोकेको यो क्षेत्रलाई व्यवस्थित गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना प्रदेश सरकारको रहेको छ।

सो कार्यक्रममा लुम्बिनी प्रदेश नेकपा (एमाले) संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईलगायतको उपस्थिति रहेको थियो। उहाँहरूले पनि पर्यटन प्रवर्द्धनमा कानुनी जटिलता हटाउँदै नीतिगत सुधार आवश्यक रहेको सुझाव दिनुभएको थियो ।

यसैबीच, शनिबार नै मुख्यमन्त्री आचार्यले बुटवलको हिलपार्क क्षेत्रको पनि स्थलगत अनुगमन गर्नुभएको छ।