रामेछाप, १० साउन । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपिठ खाँडादेवी मन्दिर जाने सडक असहज हुँदा यात्रीहरुले हैरान खेप्नु पर्ने भएको छ ।
मन्दिरम्म जाने सडक पिच नहुँदा दर्शनार्थीहरुले निक्कै असजिलो खेप्नु परेको छ । पकरबास–गाल्पा सडक बाट खाँडादेवी मन्दिर जाने करिब ३ किलोमिटर सडक व्यवस्थित नहुँदा मन्दिरसम्म पुग्न दर्शनार्थीले जोखिम मोल्नु परेको छ ।
पकरबास गाल्पा सडकबाट खाँडोदवी मन्दिर जान दुईवटा सहकायक सडकहरु रहेका छन् । एउटा माकादुमको रायगाउँबाट खाँडादेवी जाने सडक छ भने अर्को चोप्राङ डाँडाबाट खाँडादेवी जाने सडक रहेको छ । दुईवटै कच्चि सडक अप्ठेरा र साँघुरा छन् । जसले गर्दा खाँडादेवी जाने यातायात साधन बाटोमा फस्ने गरेका छन् ।

वर्षाको बेलामा ती सडकहरु बिग्रदा यातायात साधन नै रोकिने गरेका खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ । वर्षा लागेपछि दैनिकजसो विकास कोषले श्रमिक लगाएर सडक मर्मत गर्ने गरेको तामाङले बताउनुभयो ।
सो सडकको लागि यस आर्थिक वर्षमा एउटा ५५ लाख र एउटा ४० लाख रुपैँया बजेट परेको उहाँले बताउनुभयो । सो बजेटको राम्रो सदुपयोग होस् भन्ने चाहन स्थानीयको रहेको तामाङले बताउनुभयो ।
त्यसो त अहिले बिपी राजमार्ग बारम्बार अरुद्ध हुँदा काठमाडौं उपत्यकाबाट खाँडादेवी दर्शन गर्न आउने दर्शनार्थीको संख्या ह्वात्तै घटेको छ । त्यस माथि मन्दिर छेउको सडक समेत अवस्थित हुँदा मन्दिर आउने इच्छा भएका कतिपय दर्शनार्थीहरु जोखिमपूर्ण सडककै कारण मन्दिर आउन सकेका छैनन् । तथापि दर्शनार्थीहरुलाई समस्या नपरोस् भनेर विकास कोषले सकेको काम गरिरहेको छ ।
खाँडादेवीलाई रामेछापको ऐतिहासिक धार्मिक शक्ति पीठ मानिन्छ । २०७० सालमा खाँडादेवी विकास कोष स्थापना भएपछि मन्दिर व्यवस्थापनको सबै काम सो कोषले गर्दै आएको छ । यस मन्दिरको चर्चा देवी भागवत महापुराण र शिवपुराणको हिमवत् खण्डमा पनि गरिएको छ ।
मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला दरबारले चढाएको सुन र चाँदीको जन्तरले यसको ऐतिहासिकतालाई पुष्टि गर्दछ ।
नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई कुखुराको पोथी बलि दिनु भनी आदेश दिनुभएको र बडादशैँमा सो बलि दिने गरिएको बताइन्छ ।
अहिले खाँडादेवी विकास कोषले बडादशैँ र चैतेदशैँमा कोषको तर्फबाट यो पूजा गर्दै आएको छ । काेषले पुजारी राखेर दैनिक पूजा पनि गराउँदै आएकाे छ ।













प्रतिक्रिया दिनुहोस्