काठमाडौं, साउन ११ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले २४औँ घण्टा विद्युत् आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरूले पूरा गर्न नसेको गुनासो गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित सामुदायिक विद्युतीय उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उहाँले आवश्यक पर्ने जति विद्युत् आफैँ उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि परेको बताउनुभयो । ‘२४ घण्टै विद्युत् आपूर्ति गर्ने सरकारको चाहना छ तर यसमा दबाब र चुनौती छन्, हामीलाई आवश्यक पर्ने जति विद्युत् आफै उत्पादन गरेर खपत गर्ने र बढी भएको विद्युत् निर्यात गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेको छ’, उहाँले भन्नुभयो ।
हरेक क्षेत्रमा जस्तै विद्युत् क्षेत्रमा पनि चुनौतीहरू देखिएको भन्दै चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्ने उहाँको भनाइ छ । ‘चुनौतीहरू त हरेक क्षेत्रमा देखिएका छन्, यो क्षेत्रमा पनि छ तर हामी चुनौती सामना गर्ने सामर्थ्य निर्माण गर्नुपर्छ’, खड्काले भन्नुभयो ।
उहाँले चितवनमा लोडसेडिङ गरिएको कुरा भने अस्वीकार गर्नुभयो । हालको लाइनले लोड नधानेको कारण सिँचाइका पम्प चलाउँदा समस्या आएकोले त्यसको व्यवस्थापन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ‘लइन मिलाउन लागिएकोले दुई दिन सिँचाई पम्प नचलाइदिनुस् भनेको हो, लोडसेडिङ होइन, लोडसेडिङ हुँदैन’, उहाँले भन्नुभयो ।
यसै बिच नेपाल विद्युत् प्राधिकरणले सिँचाई प्रयोजनमा प्रयोग हुने मोटरहरू राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले एक सूचना जारी गर्दै मनसुन सुरु नभएसम्म सिँचाई प्रयोजनमा प्रयोग हुने मोटरहरू राति ९ बजेपछि मात्र सञ्चालन गर्न आग्रह गरेको हो ।
यस वर्ष लामो समयदेखि तराईका जिल्लाहरूमा सुख्खा खडेरीका कारण अत्यधिक गर्मी बढ्न गई वितरण लाइनको संरचनाहरू ओभरलोडमा सञ्चालन भई न्यून भोल्टेजको समस्या देखिएको प्राधिकरणले जनाएको छ । बढी विद्युत् खपत गर्ने उपकरणहरू कम मात्रामा चलाई विद्युत् व्यवस्थापनमा सहयोग गरिदिन प्राधिकरणले अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्