जनता टाइम्स

११ श्रावण २०८२, आईतवार १८:२२

पूर्वाधार विकास कार्यालय मार्फत भएकाे कामकाे बेहाल, निर्माण सकिने बित्तिकै भत्कियो मेसिनरीवाल 


रामेछाप, ११ साउन । जिल्लामा पूर्वाधार निर्माणको जिम्मा पाएको प्रमुख निकाय पूर्वाधार विकास कार्यालय रामेछापमार्फत गरिएका कामको गुणस्तरप्रति नागरिक असन्तुष्ट बनेका छन् । विभिन्न स्थानमा निर्माण सम्पन्न नहुँदै संरचना भत्किएको घटना दोहोरिएपछि कार्यालयको कामप्रति प्रश्न उठेको छ ।

गत वर्ष लिखु तामाकोसी गाउँपालिका–२ सैपु जाने सडकको भुर्स्वा पाखामा ढलान गरिएको संरचना अल्पसमयमै भत्किएको स्थानीयले गुनासो गरेका थिए । सार्वजनिक गुनासोपछि जिम्मेवारी पाएको निर्माण व्यवसायीले भत्किएको ठाउँ टालटुल गरेर जिम्मेवारी पन्छाएको आरोप लागेको छ ।

यस वर्ष पनि सो कार्यालयमार्फत भएका केही काम तत्कालै भत्किएका छन् । मन्थली–सुनारपानी–सालु सडकखण्डअन्तर्गत सुनारपानी भदौरेमा निर्माण गरिएको पर्खाल काम सकिएको केही दिनमै भत्किएको छ । पहिरो नियन्त्रणका लागि लगाइएको सो पर्खाल माथिबाट आएको सानाे पहिरोले समेत थेग्न  नसकेपछि ढलेको हो ।

सडकको भदौरेमा ३० मिटर र सुकेधारा माथिको गैरोमा २४ मिटर लामो मेसिनरीवाल निर्माण गरिएको थियो । करिब १० लाख रुपैयाँको लागतमा बनाइएको पर्खालमध्ये भदौरेको पक्की पर्खाल कामै नलाग्ने गरी भत्किएको स्थानीय शम्भुकुमार कार्कीले बताउनुभयो ।

उहाँका अनुसार पर्खालमा प्रयोग गरिएको सिमेन्ट र बालुवाको गुणस्तर अत्यन्तै कमजोर थियो । उहाँले पूर्वाधार विकास कार्यालयले कमिसनको भरमा काम गर्ने प्रवृत्तिले यसरी संरचना भत्किने गरेको आरोप लगाउनुभयो ।  ‘सिमेन्ट र बालुवा मकैको रोटी झैं टुट्छ’, कार्कीले भन्नुभयो, ‘असारमा ठेक्का दिएर असारमै सक्नुपर्ने भनेर हतार हतार काम गरिन्छ, गुणस्तर भन्ने कुरै हुँदैन ।’

स्थानीय गणेशकुमारी कार्कीले पनि नागरिकको गुनासो बेवास्ता गरिएको बताउनुभयो । ‘हामीले काम राम्रो भएन भनेर धेरैपटक भनेका हौं’, उहाँले भन्नुभयो, ‘तर कामदारहरू भन्छन्- हामीलाई यस्तै गर्नु भनेको छ ।’

मन्थली नगरपालिका–५ सुनारपानीका वडाध्यक्ष रविन कार्कीले पनि भत्किएको पर्खालबारे कार्यालयसँग कुरा भएको जानकारी दिनुभयो । ‘वर्षातको बेला हतारमा काम गर्दा गुणस्तर नभएको देखिन्छ’, उहाँले भन्नुभयो, ‘कार्यालयले पुनः बनाउने भनिएको छ ।’

साे निर्माणको काम एसकेएए कन्ट्रक्सन एण्ड सपलायर्सले गरेकाे थियाे ।

यो विषयमा पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी दोर्णबहादुर चौधरीसँग सम्पर्क गर्न खोज्दा उहाँको फोन स्विच अफ देखिएको थियो । कार्यालयमा सम्पर्क गर्दा उहाँ बिदामा हुनु भएको जानकारी दिइएको छ ।

पटक–पटक यस्ता संरचना भत्किएर दोहोरिने समस्याले पूर्वाधार विकास कार्यालयमाथि नागरिकको भरोसा घट्दो छ । निर्माणअघि कुनै परीक्षण हुँदैन, कार्यान्वयनपश्चात अनुगमन पनि नहुने भन्दै नागरिकले यस्ता संरचना सम्भावित दुर्घटनाको कारक हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।