जनता टाइम्स

१३ श्रावण २०८२, मंगलबार २०:३४

न्युनतम सात वर्ष कैद सजाय माग गर्दै राजेश अहिराजविरुद्ध करणी मुद्दा दर्ता


काठमाडौँ, १३ साउन । मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ।जिल्ला सरकार वकिल कार्यालय काठमाडौँले मंगलबार प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरेको हो।
एक युवतीलाई उनको निवासमै पुगेर करणी गरेको अभियोगमा अहिराजविरुद्ध किटानी जाहेरी परेपछि उनी केही महिनादेखि फरार थिए।

९ दिनअघि पक्राउ परेका अहिराजविरुद्ध सरकारी वकिल कार्यालयले मंगलबार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ बमोजिमको कसुर गरेको भन्दै मुद्दा दायर गरिएको हो।जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई सात वर्षदेखि दश वर्षसम्म कैद सजाय र पीडितलाई तीन लाख क्षतिपूर्तिको माग गरिएको छ।किटानी जाहेरी परेपछि अहिराजले भित्रभित्रै कसुर लुकाउने कोशिस गरेका थिए। तर, असम्भव भएर अनुसन्धान प्रक्रिया अघि बढेपछि उनी फरार भएका हुन्। उनी एमालेसँग आबद्ध छन्।अनुसन्धान अधिकारीसमक्ष पीडित युवतीले आफूलाई कोठामै आएर अहिराजले मुख थुनेर जबरजस्ती करणी गरेको बताएकी छन्।

आफूले ज्यान जोगाउने कोशिस गर्दागर्दै चुक्कुल लगाएर भाग्नेसमेत नदिएर घटना घटाएको पीडितको दाबी छ।
अहिराजले भने पीडितसँग पहिल्यैदेखि पारिवारिक सम्बन्ध रहेको, काठमाडौँमा आएर अध्ययन गर्न सहयोग गरेको, विदेश पढ्न जान खोज्दा युवती असफल भएपछि कुलतमा फसेको र आफूले परिवारसँग मिलाउने कोशिस गरेको दाबी गरेका छन्। उनले आफूबाट दाबी गरिएजस्तो कसुर नभएको बयान दिएका छन्।