हेटौँडा । साउन १६ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको बैठक आज हेटौँडामा बस्दै छ।
बैठक बिहान ११ बजे बागमती प्रदेश राजधानी हेटौँडास्थित संसदीय दलको कार्यालयमा तय गरिएको एमाले बागमती संसदीय दलका प्रमुख सचेतक मधुसूदन पौडेलले जानकारी दिनुभयो । बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, सरकार सञ्चालनको समीक्षासँगै भावी रणनीतिबारे गम्भीर र विस्तृत छलफल हुने पौडेलको भनाइ छ। पछिल्ला दिनहरूमा प्रदेश सरकारमा देखिएको अस्थिरता र सम्भावित पुनर्संरचनालगायतका विषयहरू बैठकको प्रमुख एजेण्डा हुने जनाइएको छ।
प्रदेश सरकार गठनपछिको अनुभव, कार्यसम्पादनको समीक्षा तथा प्रतिपक्षको भूमिकासम्बन्धी विषयमा पनि सांसदहरूबिच राय–विमर्श गरिने तयारी रहेको बताइएको छ। एमालेले पछिल्ला दिनमा बागमती प्रदेशको राजनीतिक दिशा अस्पष्ट बन्दै गएको तथा दलहरूबिच नीति–दिशाबारे स्पष्टता नदेखिएको भन्दै चासो व्यक्त गर्दै आएको छ।
बैठकमा पार्टी संगठनका केही आन्तरिक विषयहरू तथा सरकारको बारेमा समेत छलफल हुने अनुमान गरिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आफ्नै संसदीय दलमा विश्वासको मत गुमाएपछि वाग्मतीमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ । कांग्रेसले आज नयाँ संसदीय दलको नेता चयनको लागि निर्वाचन गर्दै छ । अब इन्द्र बानिया कांग्रेस संसदीय दलको नेता हुने सम्भावना छु ।













प्रतिक्रिया दिनुहोस्