जनता टाइम्स

१४ श्रावण २०८२, बुधबार १४:४५

गुफाभित्र शिवको वास: सिन्धुलीको जाँते खोलामा लुकेको आध्यात्मिक थलो


सिन्धुली, १४ साउन । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ मा अवस्थित जाँते खोलाको माथिल्लो भेगमा एउटा रहस्यमय गुफा छ, जहाँ प्रवेश गरेपछि एकाएक आध्यात्मिक शान्तिको अनुभूति हुन्छ।

यो गुफामा प्राकृतिक रूपमा बनेको शिवलिंग, गणेशको मूर्ति, पापद्वार र धर्मद्वार छन्। गोठालाहरूले गाईहरू बारम्बार एउटै ठाउँमा जम्मा हुनुकाे कारण खाेज्दै जाँद याे गुफा पत्ता लागेकाे स्थानीय बताउँछन् । यो गुफा स्थानीयकाे श्रद्धा र जनविश्वासको केन्द्र बनेको छ।

स्थानीय बासिन्दा भरत राउतका अनुसार २०४० सालतिर गोठालाले गाई चराउन जाँदा याे गुफा पत्ता लगाएका हुन् ।   गुफाभित्रको शिवलिंगमा गाईको थुन जस्तै आकृतिबाट निरन्तर पानी चुहिने दृश्य यस ठाउँको विशेषता बनेको छ।

वडा अध्यक्ष गोविन्द राउतका अनुसार यो गुफा धार्मिक मात्र नभई पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र हो। ‘‘रानी दह र राजा दहजस्ता झरनाहरू, हरियालीले भरिएको गोरेटो, अनि गुफाको प्राकृतिक शीतलता सबैले यहाँको सौन्दर्यता बढाएकाे छ ’’ उहाँले भन्नुभयो।

यस्तो रमणीय र अनौठो स्थल अझै राज्यको औपचारिक प्रवर्द्धन र संरक्षणमा पर्न सकेकाे छैन। प्रचार–प्रसार नहुनु र आधारभूत पूर्वाधार अभावका कारण यो गुफा अहिले पनि अधिकांशका लागि अज्ञात छ।

यद्यपि, स्थानीय स्तरमा यसकाे संरक्षणा र प्रचारकाे प्रयास भने सुरु गरिएकाे छ। झुगा सामुदायिक वनको अगुवाइमा मन्दिरसम्म पुग्ने सिँढी निर्माणको काम धमाधम भइरहेको छ। वडा कार्यालयले समन्वय गरेर पैदल मार्गलाई सहज बनाउन सक्ने प्रयास थालेको छ। अध्यक्ष राउतका अनुसार, मन्दिर वडाबाट करिब ७ किलोमिटरको दूरीमा पर्छ।

हरेक वर्ष शिवरात्रिका दिन यहाँ मेला लाग्दछ। पूजाका लागि भाकल गर्ने स्थानीय भक्तजनको घुइँचो लाग्ने गर्दछ। धार्मिक चाडपर्वका दिन मात्र नभई आम दिनहरूमा पनि आन्तरिक पर्यटक र श्रद्धालुहरूलाई आकर्षित गर्ने क्षमता यो स्थलमा प्रशस्त छ।

। ‘गुफाको मर्मत, बाटोको सुधार र प्रचारमार्फत यहाँ धार्मिक पर्यटनको नयाँ सम्भावना खोल्ने सोच बनाएका छौं।’

यो गुफा, जहाँ प्रकृतिले आफैं शिवको रूप सिर्जना गरेको छ, तीर्थाटन, अध्यात्म र प्रकृतिको सुन्दर समागमको प्रतीक बन्ने बाटोमा छ। अब यसलाई उज्यालोमा ल्याउने जिम्मा स्थानीय र राज्यका संयोजनमा निर्भर रहनेछ।